यूएईले सबै किसिमको भिसा उल्लंघन गर्नेलाई जरिवानामा छुट दिने

 संयुक्त अरब इमिरेट्स (यूएई)ले सबै किसिमको भिसा  उल्लंघन गर्नेलाई जरिवानामा छुट दिने निर्णय गरेको छ। यूएईका राष्ट्रपति शेख खलिफा बिन जायेद अल नाहयानले बुधबार यस्तो व्यवस्था गर्न निर्देशन दिएका हुन्।

यूएईको फेडेरल अथोरिटी अफ आइडेन्टिफाइ एण्ड सिटिजनसिपका प्रवक्ता बि्रगनडिएर खामिस अल काबीका अनुसार मार्च १ भन्दा अगाडि यूएईमा प्रवेश वा बसोवास अनुमतिको अवधि सकिएका मानिसले कुनै जरिवाना बुझाउनुपर्ने छैन।

अहिले छुट पाएका मानिसहरुलाई कुनै जरिवाना नलाग्नुका साथै उनीहरुले मे १८ बाट मुलुक छाड्न पनि पाउने छन्।तर  मे १८ देखि ३ महिनाभित्रै देश नछाडे जरिवाना तिराउने तयारी छ।

यो छुट अवधि तीन महिनासम्म जारी रहने उनको भनाइ छ। छुट अवधि सबै इमिरेट्स आईडी र वर्क परमिट सकिएका मानिसहरुको लागि कायम रहने बताइएको छ।

अहिले गरिएको निर्णयले कसैलाई पनि निश्चित शर्त पूरा गरेर आफ्नो मुलुक फर्किन नरोक्ने काबीले बताए।

प्रकाशित मिति: : 2020-05-14 13:05:56

प्रतिकृया दिनुहोस्