कपिलवस्तुकी ६ वर्षीया बालिकाकाे स्वासप्रस्वासमा समस्या, परीक्षण गराउँदा काेराेना भएकाे पुष्टि

स्वासप्रस्वास सम्बन्धि समस्या देखिएकी कपिलवस्तुकी ६ वर्षीया बालिकामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार वाणगंगा नगरपालिका ४ ठाकुरापुर की ६ वर्षीया बालिकामा संक्रमण देखिएको हो।

कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीका अनुसार स्वासप्रस्वास सम्बन्धि समस्या देखिएपछि वडा कार्यालयको सिफारिसमा उनीलाई थप उपचारका लागि मंगलबार काठमाडौंको त्रिवि शिक्षण अस्पताल पठाइएको थियो। 

उनमा उच्च ज्वरो, खोकीका साथै अन्य लक्षण देखा परेपछि चिकित्सकको सुझावअनुसार स्वाब परीक्षण गराउँदा संक्रमण पुष्टि भएको उनले बताए। 

'हामीलाई जानकारी भएसम्म उनीहरूको परिवारमा कोही पनि विदेशबाट आएका छैनन्,प्रजिअ नेपालीले भने,‘त्यस्तो व्यक्तिको सम्पर्कमा गएको पनि नदेखिएको भनेर सुन्नमा आएको छ।’

बालिकामा संक्रमण देखिएपछि उनीसँग सम्पर्कमा आएकाहरूको खोजी गरि परीक्षण गर्ने तयारी भइरहेको उनले बताए।

योसँगै कपिलवस्तुमा संक्रमितको संख्या ३९ पुगेको छ। जसमध्ये ४ जना सुरक्षाकर्मी र १ जना स्टाफ नर्समा पनि संक्रमण पुष्टि भएको छ।
 

प्रकाशित मिति: : 2020-05-14 09:21:53

प्रतिकृया दिनुहोस्