विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस कहिल्यै उन्मुलन नहुन पनि सक्ने चेतावनी दिएको छ।
यसविरुद्ध खोप नबन्दासम्म मानिसले यस रोगविरुद्ध उचित स्तरको प्रतिरोध क्षमता प्राप्त गर्न वर्षौं लाग्ने डब्लुएचओले बताएको हो।
डब्लुएचओका आपतकालीन निर्देशन डा. माइक रायनले बुधबारको ब्रिफिङ्गको क्रममा यो भाइरस कहिल्यै अन्त्य नहुने वा रहिरहने सम्भावना देखिएको बताएका हुन्।
‘कोरोना क्षेत्रअनुसार रूप बदलेर अर्को भाइरस बनेर बसिरहन सक्ने देखिन्छ, कहिले समाप्त नहुन पनि सक्छ,’ जेनेभामा भएको भर्चुअल प्रेस सम्मेलनमा उनले भने।
उनले एचआईभी भाइरसको उदाहरण दिँदै अगाडि भने, ‘जसरी यो अहिलेसम्म निर्मूल हुन सकेको छैन।’
उनले खोप भएर पनि उन्मुलन नभएका धेरै रोगहरु रहेकाले कोरोना भाइरस पनि त्यस्तै हुन सक्ने उनले चेतावनी दिएका हुन्।
अहिले विश्वमा कोरोनाविरुद्ध खोप बनाउने धेरै प्रयास जारी रहेको बताउँदै संसारमा अहिले कम्तीमा यसका लागि सय वटा खोप विकास भइरहेको बताए।
विश्वभर २ लाख ९७ हजारको मृत्यु
विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ९७ हजार ६०३ पुगेको छ। यो समाचार तयार पार्दासम्म कोरोना भाइरसबाट ४४ लाख २३ हजार ७२४ जना संक्रमित छन्।
बितेको २४ घण्टामा ५ हजार १५२ जनाले ज्यान गुमाएका छन् भने ८६ हजार २८७ जनामा नयाँ संक्रमण पुष्टि भएको छ।
संक्रमितमध्ये १६ लाख ५४ हजार ८८९ जना उपचारपछि निको भएर घर फर्किएका छन्। २४ लाख ७१ हजार २३२ जनाको उपचार भइरहेको छ। उपचाररत मध्ये ४५ हजार ९३२ जनाको अवस्था गम्भीर छ।
उत्तर अमेरिकी मुलुकहरुमा ९५ हजार ३५२ जनाको मृत्यु भएको छ। संक्रमितको संख्या १५ लाख ६८ हजार ३५० पुगेको छ। यस्तै एसियाली मुलुकहरुमा २३ हजार २६८ जनाको मृत्यु भएको छ। ७ लाख २० हजार ८०२ जना संक्रमित छन्। दक्षिण अमेरिकी मुलुकहरुमा १९ हजार १६ जनाको मृत्यु भएको छ। ३ लाख ५५ हजार २७४ जना संक्रमित छन्।
अफ्रिकी मुलुकहरुमा २ हजार ४९१ जनाको ज्यान गएको छ भने ७३ हजार ६७५ जना संक्रमित छन्। त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ११९ जनाको मृत्यु भएको छ। संक्रमितको संख्या ८ हजार ५८१ पुगेको छ।
कोरोना भाइरसको महामारीले अमेरिकामा ८५ हजारभन्दा बढीको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप १ हजार ६५७ जनाको मृत्यु भएको छ। योसँगै कुल मृतक संख्या ८५ हजार ८२ पुगेको छ।
पछिल्लो २४ घण्टामा त्यहाँ २० हजार १७९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १४ लाख २८ हजार ८१५ पुगेको छ। अमेरिकामा संक्रमितमध्ये ३ लाख ७ हजार ८९३ जना उपचारपछि निको भएका छन्।