नेपालमा काेराेना संक्रमित नर्सकाे संख्या २ पुग्याे

बिएल संवाददाता

काठमाडाै‌ं

भक्तपुरमा मंगलबार कोरोना संक्रमण पुष्टि भएकी महिला नर्स भएको खुलेको छ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (टेकु)मा गरिएको पीसी आर परीक्षणमा भक्तपुरका २५ वर्षीया  महिला नर्सलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो।

सुनसरीको रामधुनी नगरपालिका स्थायी घर भइ हाल भक्तपुरको ठिमीमा बस्दै आएकी छिन्। उनी आरोग्य अस्पतालमा कार्यरत नर्स भएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ। 

उनी सुनसरीको झुम्काबाट आएको खुलेको छ। तीन दिन अघि उनी सुनसरीको झुम्काबाट भक्तपुर आएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले पुष्टि गरेका हुन्।  उनका अनुसार युवतीलाई मंगलबार टेकु अस्पताल भर्ना गरिएको छ

यसअघि मंगलबार  कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत नर्समा कोरोना भाइरस पोजेटिभ रहेको पुष्टि भएको थियो। योसँगै नेपालमा दुई जना नर्समा कोरोना पुष्टि भएको छ। 

प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीका अनुसार अस्पतालमा उनीसहित ९ जनाको स्वाब संकलन गरिएको थियो। बाँकी ८ जनाको रिर्पोट नेगेटिभ छ।

कपिलवस्तु नगरपालिका वडा १ की उनलाई कसरी संक्रमण भएको हो भन्नेबारे खुलेको छैन। तर कपिलवस्तु नगरपालिकाभित्र क्वारेन्टाइनमा बसेकाहरुको थ्रोट स्वाब संकलन गर्ने क्रममा उनलाई कोरोना भाइरस सरेको अनुमान गरिएको छ।

उनी कार्यरत तौलिहवा अस्पतालमा स्थायी र करार गरी ६७ जना स्वास्थ्यकर्मीहरु काम गरिरहेका छन्। संक्रमित स्वास्थ्यकर्मी क्वारेन्टाइनमा नबसी आफ्नै घरमा जाने गरेकी थिइन्। संक्रमित स्वास्थ्यकर्मीसहित अरुको स्वाब संकलन गरिए पनि उनीहरुलाई क्वारेन्टाइन राखिएको थिएन।
 

प्रकाशित मिति: : 2020-05-13 10:49:45

प्रतिकृया दिनुहोस्