रुसमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ३२ हजारभन्दा बढी पुगेको छ। लगातार दसौं दिन रुसमा नयाँ संक्रमित दैनिक १० हजारभन्दा धेरैले थपिएका छन् ।
गत २४ घण्टामा १० हजार ८ सय ९९ नयाँ संक्रमित थपिएका छन् । यससँगै रुसमा कूल संक्रमितको संख्या २ लाख ३२ हजार २ सय ४३ पुगेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक छ ।
रुसमा हालसम्म २ हजार १ सय १६ जनाको मात्र मृत्यु भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्तामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार प्रवक्ता दिमित्री पेस्कोभमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। पेस्कोभले पुटिनलाई एक महिनाअघि भेटेका थिए। पुटिन हाल आफ्नो घरबाट काम गरिरहेको र उनको स्वास्थ्य सुरक्षित राखिएको क्रेम्लिनले जनाएको छ।
यसअघि प्रधानमन्त्री मिखायल मिसुस्तिन पनि संक्रमित बनेका थिए। त्यस्तै, संस्कृति मन्त्री ओल्गा ल्युमिमोभा, भौतिक निर्माणमन्त्री भ्लादिमिर याकुसेभ पनि संक्रमित भइसकेका छन्।