मंगलबार एकै दिन थपिए ८३ कोरोना संक्रमित, पहिलो सय पुग्न १०६ दिन, दोस्रो सय ५ दिनमै!

बिएल संवाददाता

काठमाडाै‌ं

नेपालमा मंगलबार एकैदिन ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट आज पर्सा, महोत्तरी, सर्लाही, धनुषा, कपिलबस्तु, रूपन्देही, भक्तपुर र काठमाडौंमा गरि ८३ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार मंगलबार साँझ गरिएको परीक्षणबाट पर्सामा १८, महोत्तरी, धनुषा र भक्तपुरमा दुई–दुई, काठमाडौं र सर्लाहीमा एक–एक गरी थप २६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो। 

नयाँ संक्रमित २६ मध्ये १७ जना पुरुष र ९ जना महिला रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिए।

मन्त्रालयका सहप्रवक्ता डा‍‍. समीरकुमार अधिकारी अनुसार पर्साका २२, २८, २८, ३२, ४५ र ६० वर्षीय महिला तथा १६, २२, २४,२५, २५, २८,२८, ३२, ५९, ५५,६१, र ६१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। 

यस्तै महोत्तरीका १६ र ३५ वर्षीय पुरुष तथा धनुषाकी २० वर्षीया महिला र ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ। यस्तै भक्तपुरका २५ वर्षीया महिला र २७ वर्षीय पुरुष तथा काठमाडौंका ३३ वर्षीया महिला र सर्लाहीका ४५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ। 

भक्तपुरमा पहिलोपटक कोरोना संक्रमित फेला

काठमाडौं उपत्यकाअन्तर्गत भक्तपुरमा पहिलोपटक कोरोना भाइरसबाट संक्रमित व्यक्ति फेला परेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (मंगलबार) एकै दिन भक्तपुरका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (टेकु)मा गरिएको पीसीआर परीक्षणमा भक्तपुरका २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

यसअघि मंगलबार दिउँसो पर्सामा ३९, कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र बारामा १ जना गरी ५७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो। योसँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या २१७ पुगेको छ।

उनका अनुसार संक्रमित सबैको स्वास्थ्य सामान्य रहेको र उनीहरु चिकित्सकको सम्पर्कमै रहेका छन्। 

यो सँगै नेपालमा कोरोना भाइरस फैलिने दर तीव्र गतिमा बढिरहेको छ।

गत माघ ९ गते चीनबाट आएका एक पुरूषमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसको ६४ दिनपछि चैत १० गते फ्रान्सबाट आएकी एक महिलामा कोरोना पुष्टि भएको थियो।

त्यसयता १ सय ६ दिनपछि वैशाख २५ गते नेपालमा संक्रमितको संख्या सय नाघेको थियो।

पहिलो सय जना संक्रमित भेटिन १ सय ६ दिन लागेको नेपालमा दोस्रो सय जना  भेटिन ५ दिनमात्रै लागेको छ।

सय संक्रमित पुगेको ५ दिनपछि मंगलबार नेपालमा कोरोना संक्रमितको संख्या २ सय १७ पुगेको छ।

आज मात्रै नेपालमा थप ८३ जनामा कोरोना पुष्टि भएको हो। यसअघि सोमबार थप २४ मा कोरोना संक्रमण देखिएको थियो।

पछिल्लो समय देशभर परीक्षण दायरा बढाएसँगै नेपालमा संक्रमितको संख्या पनि थपिएको हो।

कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा २ हजार २ सय ३६ जनाको नमूना परीक्षण भएको छ।

नेपालमा हालसम्म ७८ हजार ५ सय ९१ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। १८ हजार ९ सय ६४ जनाको पिसिआर र ५९ हजार ६ सय २७ जनाको आरडिटीबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

कोरोनाको आशंकामा काठमाडौं उपत्यका भित्र १ र बाहिर २ सय २७ गरी कुल २ सय २८ जना अस्पतालको आईसोलेसनमा छन्। मुलुकभर हाल १२ हजार ७ सय ८५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले बताए।

३३ जना निको भएर घर फर्किए

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ३३ जना व्यक्तिले कोरोना जितेर घर फर्किएका छन्। 

उदयपुरका १४, काठमाडौंका ५, कैलालीमा ४, पर्सामा ३, बागलुङमा २ र रौतहट, चितवन, झापा, भोजपुरमा १-१ जना निको भएर घर फर्किएका छन्।

पर्सामा ८२ जना संक्रमित मध्ये ३ जना निको भए भने अजै ७९ जना उपचाररत छन्।

उदयपुरमा ३२ संक्रमितमध्ये   १४ जना निको भएर घर फर्किएका छन् भने १८ जना अझै उपचाररत छन्।

यस्तै कपिलवस्तुमा २९ जना उपचाररत छन्। बाँकेमा २४, रूपन्देहीमा   १६ जना उपचार गराइरहेका छन्।

उपत्यकाभित्र काठमाडौंमा ६ जनामा देखिएको संक्रमण ५ जना निको भएर घर फर्किसकेका छन्।

यस्तै कैलालीका चार जना संक्रमित सबै निको भएर घर फर्किएका छन्।

बारा र रौतहटमा ३-३ जनामा देखिएको संक्रमण रौतहटका एक जना निको भइसकेका छन्।

बागलुङका दुबै संक्रमित निको भइसकेकका छन्।

भक्तपुर, चितवन, धनुषा, झापा, महोत्तरी, सर्लाहीमा समान २-२ जना संक्रमित भेटिएको छ। जसमध्ये चितवन र झापाका १-१ जना निको भएर घर फर्किएका छन्। बाँकी उपचार गराइरहेका छन्।

यस्तै बर्दिया, भोजपुर, कञ्चनपुर र सप्तरीमा समान १-१ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये भोजपुर र कञ्चनपुरका एक-एक जना निको भएर घर फर्किएका छन्।

प्रकाशित मिति: : 2020-05-12 22:34:22

प्रतिकृया दिनुहोस्