गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी गरिएका सबै सवारी पास रद्द गरेको छ।
गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीका अनुसार मुलुकमा कोरोना (कोभिड–१९) भाइरस संक्रमितको संख्या बढेसँगै आवश्यक सावधानी अपनाउनका लािग मंगलबार दिउँसो यो निर्णय गरेको हो।
‘बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएको हो। मंगलबार मात्रै ५७ जना कोरोना संक्रमित भेटिकाे छ। झन भयावह हुने स्थिति देखा परेकाे छ। आवतजावतमा कडाइ गरिएको हो,’ अधिकारीले भने।
उनका अनुसार सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने छ।
यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने गरेका थिए। अब सम्बन्धित नियामक निकायबाट प्राप्त पास अनिवार्य गरिएको अधिकारीको भनाइ छ।