लिपुलेकमा भारतले सडक खनेको कुरा समाचारबाट थाहा पाएँ: प्रधानमन्त्री ओली

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकमा भारतले सडक खनेको छ भन्ने आफूले पनि समाचारबाट थाहा पाएको बताएका छन्। मंगलबारको मन्त्रिपरिषद् बैठकमा उनले भारतले सडक खनेको खबर समाचारबाट थाहा पाएको बताएका हुन्।

‘यदि त्यसो हो भने यो गलत छ। मैले पनि समाचारबाट थाहा पाए। सडक बनाएको कुरा मलाई कसैले जानकारी नै दिएनन्,’प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै एक मन्त्रीले भने।

यस्तै उनले भारतको उक्त कदमपछि नेपालमा पुत्ला दहन र नारावाजी गरेर समस्या समाधान नहुने पनि बताए। 

‘समस्या समधान गर्न कुटनीतिक प्रयास भइरहेको छ। म पनि त्यसका लागि प्रयास गर्छु। तर बुरुक्क उफ्रिएर र आवेशमा आएर यो समस्या समाधान हुँदैन’, प्रधानमन्त्रीले भने। 

यस्तै बैठमा उनले मन्त्रीहरुलाई यस्तो संवेदनशील विषयमा बोल्दा तथ्य, तथ्यांक र प्रमाण भएका कुरामात्रै बोल्न पनि निर्देशन दिए।

भूमिसुधार मन्त्री पद्मा अर्यालले हालै लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको नक्सामा कहिल्यै नभएको भनेको विषयमा विवाद उत्पन्न भएको थियो। सोमबारको संसदीय समितिमा सत्तारुढ नेकपाकै सांसद भीम रावलले मन्त्री अर्यालको भनाईको विरोध गरेका थिए।

भारतले तिब्ब्तको मानसरोवर जानका लागि नेपाली भूमि अतिक्रमण गरी बाटो बनाएपछि सीमा विवाद बढेको छ। यसबारे सरकारले भारतीय राजदुतलाई बोलाएर कुटनीतिक नोट हस्तान्तरण गरिसकेको छ भने भारतीय विदेश मन्त्रालयले भारतले आफ्नै भूमिमा सडक निर्माण गरेको बताएको छ।

लकडाउन कडा पार्न निर्देशन

 प्रधानमन्त्री ओलीले लकडाउन कडा पार्न निर्देशन दिएका छन्। 

उनले कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै लकडाउन खुकुलो पार्दा अवस्था भयावह हुनसक्ने भएकाले लकडाउन कडा पार्नुको विकल्प नभएको बताएका हुन्। 

‘संक्रमितहरु बढ्दै गएका छन्। यस्तो अवस्थामा हेलचेक्र्याई गर्नु हुन्न। जीवनरक्षालाई पहिलो प्राथमिकता दिनुपर्छ। मानिस रहे सबै रहन्छ’, प्रधानमन्त्रीको भनाइ उदृत गर्दै एक मन्त्रीले भने।’

कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बनाइएको उच्चस्तरीय समन्वय समितिको सिफारिसका आधारमा काठमाडौं उपत्यकामा शुक्रबारबाट लकडाउन खुकुलो पारिएको थियो।

ती मन्त्रीका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले काठमाडौंको लकडाउन सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था खोल्ने नाममा प्रभावकारी नभएको भन्दै असन्तुष्टि जनाएका थिए। 

लकडाउन खुकुलो पारिएसँगै राजधानीमा चहल पहल बढेको छ। यता बुधबार मात्रै ५७ जना कोरोना संक्रमित थपिएका छन्। 

प्रकाशित मिति: : 2020-05-12 17:02:54

प्रतिकृया दिनुहोस्