राजदूत आचार्यलाई फिर्ता बोलाउन ग्रेटर नेपाल मोर्चाकाे माग

बिएल संवाददाता

काठमाडाै‌ं

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यलाई फिर्ता बोलाउन माग गरेको छ।

राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले सोमबार एक विज्ञप्ति निकाल्दै आचार्यलाई तत्काल काठमाडौं फिर्ता बोलाउन माग गरेका हुन्।

‘इन्डियाली ज्यादतीविरुद्ध कूटनीतिक दबाबस्वरूप अतिक्रमित कालापानी–लिपुलेक क्षेत्रको नेपाली भूमिमा सडक बनाएर उसले खडा गरेको समस्यासमाधान नभएसम्म इन्डियाका लागि नेपालका राजदूत नीलाम्बर आचार्यलाई काठमाडौं फिर्ता बोलाउन सरकारसँग माग गर्दछौं’,विज्ञप्तिमा भनिएको छ।    

उनले नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले जारी गरेको वक्तव्य र नेपालमा सन् २००५ पछि बनेका सबै सरकारहरू राष्ट्रघाती, राष्ट्रिय अखण्डताविरोधी र भारतीय कठपुतली भएको राष्ट्रवादी मोर्चाले ठहर गरेको बताएका छन्। 

विज्ञप्तिमा भनिएको छ,‘आफ्नै आँखाअगाडि आफ्नै भूभागमा इन्डियाले सडकको शिलान्यास गरेको नदेख्नु मात्र होइन, लगातार १२ वर्षसम्म नेपालको सरहदभित्र चीनसँग जोड्ने सडकको निर्माण भइरहँदा आफूले थाहा नपाएको भन्ने निर्लज्ज लवज सुन्नुपर्दा एकातर्फ साधारण नेपाली हतप्रभ भएका छौँ भने अर्कातिर नेपाली जनतालाई ढाँट्ने अकर्मण्य नेतृत्वको यस्तो निकृष्ट चरित्रले विश्वमै वीर कहलिएको नेपाली जाति वीर होइन कायर भैसकेको रहेछ भन्ने गलत सन्देश प्रवाहित भएको छ।’ 

अध्यक्ष नेपालले अहिलेको यो अवस्थामा दोषारोपण गरेर जग हँसाउनेभन्दा सबै नेपाली एक ढिक्का हुनुपर्ने बताए।

‘अहिलेको  यो सङ्गीन घडीमा एकअर्कालाई दोषारोपण गरेर जग हँसाउनुभन्दा सबै नेपाली एक ढिक्का भई इन्डियाको राजनीतिक नेतृत्वको यो चरम हेपाइविरुद्ध एकजूट भई लड्ने कुरालाई प्राथमिकता दिनुपर्ने देखिन्छ,’उनले भनेका छन्।

प्रकाशित मिति: : 2020-05-11 21:58:21

प्रतिकृया दिनुहोस्