कोरोनाभाइरसको महामारीसँग जुध्न सघन उपचार कक्षमा कार्य गर्ने गरी ८८ जना भारतीय नर्सहरुको पहिलो समूह युनाइटेड अरब इमिरेट्स (युएई) आइपुगेका छन् ।
उनीहरुलाई एस्टर डिएम हेल्थकेएर नामको कम्पनीले युएई लगेको हो । यी नर्सहरु भारतीय कन्सुलेट र युएईको विदेश तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयको समन्वयमा युएई आइपुगेका हुन् ।
भारतमा एस्टर अस्पतालमा क्रिटिकल केएर विषयमा तालिमप्राप्त ती नर्सहरुलाई दुबईस्थित कोरोनाभाइरस उपचार केन्द्रहरुमा खटाइने छ । एस्टर डिएम हेल्थकेएरका संस्थापक अध्यक्ष डा आजाद मूपेनले नर्सहरुको परिचालनले दुबै मुलुकबीचको गहिरो र विश्वासिलो सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत गरेको बताए ।
दुबई सरकारले दुबई वल्र्ड ट्रेड सेन्टरमा सामान्य किसिमका बिरामीको उपचार गर्न तीन हजार शैयाको फिल्ड अस्पताल निर्माण गरेको छ । दुबई स्वास्थ्य प्राधिकरणका महानिर्देशक हुमेद अल कुतामीले कोरोनाभाइरससँग जुध्न दुबई सरकारले पर्याप्त तयारी गरेको बताए।
भारतमा संक्रमितको संख्या ६७ हजार नाघ्यो
भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या सोमबारसम्म ६७ हजार १५२ जना पुगेको छ । गत २४ घण्टामा भारतमा थप ४ हजार २२३ जना कोरोना भाइरस संक्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा यस प्रकोपबाट. मृत्यु हुनेहरुको सख्या २ हजार २०६ जना पुगेको छ ।
यस संक्रमणबाट निको भएका विरामीको संख्या २० हजार ९१६ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा सोमबार बिहानसम्मको तथ्याङ्कअनुसार हाल यो रोगका ४४ हजार ८२९ जना संक्रमितहरु अस्पतालमा उपचार गराइरहेका छन् ।
कोभिड–१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन् । यहाँमात्र २२ हजार १७१ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । यस संक्रमणबाट महराष्ट्रमा ८३२ को मृत्यु भएको छ महाराष्ट्रपछि गुजरात दोस्रो स्थानमा रहेको छ । त्यहाँ ८ हजार १९४ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन्, भने ४९३ जनाको मृत्यु भएको छ ।
दिल्लीमा कोरोना भाइरसको संक्रमणबाट ६ हजार ९२३ जना विरामी छन् । त्यसैगरी तमिलनाडू ७ हजार २०४ संक्रमति रहेका छन् । कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुइ साताको लागि लम्बाएको छ । भारतले शुक्रबार मे ४ देखि लागू हुने गरी थप दुइ साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको थियो ।
भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो । दोस्रो लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । दोस्रो लकडाउन मे ३ मा सकिदै थियो । कोरोना भाइरसको संक्रमण देशभरी बढ्दै गएपछि दोस्रो लकडाउन नसकिदै तेस्रो लकडाउन मे १७ सम्मको लागि घोषणा गरिएको थियो ।