संसदीय समितिले लकडाउनलाई क्रमशः खुकुलो पार्न सरकारलाई निर्देशन दिएको छ।
प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि पीसीआर परीक्षणलाई बढाउँदै कडाउनलाई खुकुलो पार्न सरकारलाई निर्देशन दिएको हो।
समितिले स्थानीय स्तरमा निर्माण गरिएका क्वारेन्टाइनलाई मापदण्डअनुसार बनाउन, आइसोलेसन बेडहरु पर्याप्त मात्रामा निर्माण गर्नसमेत सरकारलाई निर्देशन दिएको छ।
यस्तै किसानहरुलाई मल तथा बीउबिजन उपलब्ध गराउन र उत्पादित वस्तु बजारसम्म पुर्याउने वातावरण सहज बनाउन पनि निर्देशन दिएको छ।
स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सरकारसँग उपलब्ध भएका परीक्षण किटहरुको आधारमा कन्ट्याक्ट ट्रेसिङको मापदण्ड बनाई परीक्षण गरिएको बताए। पछिल्लो केही दि यता पीसीआर प्रविधिबाट गरिने परीक्षणलाई पनि बढाइएको मन्त्री ढकालले जानकारी दिए।
विदेशमा अलपत्र परेका कामदार नेपाल ल्याउन सुझाव
समितिले विदेशमा अलपत्र परेका कामदारलाई नेपाल ल्याउने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ।
समितिले खाडी र भारत लगायतदेशमा रहेका मजदुरहरुको अवस्था नाजुक बन्दै गएकोले तत्कालै कदम चाल्न सरकारलाई सुझाव दिउको हो।
सीमावर्ती क्षेत्रमा बसेका मानिसहरुलाई संक्रमण नियन्त्रणसम्बन्धी विश्वव्यापी मापदण्डअनुसार व्यवस्थित रुपमा घर फर्कने व्यवस्था मिलाउनसमेत समितिले निर्देशन दिएको छ।
यता उपप्रधानमन्त्री एवं कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले भने अहिले नै सरकारले कुनै कदम नचाल्ने बताए। उनले विदेशमा रहेका नेपालीहरुको समस्या समाधानका लागि प्रधानमन्त्रीस्तरबाटै सम्बन्धित देशमा कुरा भइसकेको र कुनै समस्या भए सम्बन्धित देशले नै समाधान गर्ने बताए।
यता बैठकमा सहभागी गृहमन्त्री रामबहादुर थापाले भारतीय सीमा पारी करिब २१ सय नेपालीहरु क्वारेन्टाइनमा रहेको जानकारी दिए।