कर्णाली प्रदेश : अनुगमन भन्दै हेलिकप्टरमा सयर (भिडियोसहित)

 #फरक_मत 

‘स्वास्थ्यकर्मी कोरोना विरुद्धका सिपाही हुन महामारी निम्त्याइरहेको कोभिड–१९ को लडाईँमा खटिने डाक्टरलाई उत्साहित गराउन कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले यस्तो मन्त्रको जपना गरे। सायद यो वाक्यांशले प्रदेशभर खटिने डाक्टरलाई आफू चे ग्वेभारा जस्तो भएको भान भयो होला।

शीरमा तारे टोपी लगाएको एउटा दारिवाल युवकको तस्विर आँखा अगाडि नाच्यो होला। जो युद्व लड्थ्यो, शिविरमा चिरफार पनि गर्थ्यो। सिगार सल्काउँदै मोटरसाइकल कुदाउने त्यो युवक सम्झिँदा प्रजातान्त्रिक धार बोकेका स्वास्थ्यकर्मीले पनि आफूलाई क्रान्तिकारी नै देखे होलान्।

एउटा नेताको बोलीले आम मान्छेलाई कतिसम्म उत्साहित गराउँने रहेछ भन्ने थुप्रै उदाहरण दोस्रो विश्वयुद्व पढ्दा भेटाइन्छ। बेलायती माहारानीले भनेकी थिइन्, ‘हामी फेरि भेट्नेछौं’। यो वाक्यले यति दम दियो, त्यसबेला यही वाक्यमाथि गीत गाइए। आम मान्छेको जिब्रोमा उही वाक्यले राज गर्‍यो। अस्ति फेरि बेलायती माहारानीले उही वाक्य दोहोर्‍याइन्। माओत्सेतुङ्गले परमाणु बमजस्तो खतरनाक शक्तिलाई मिनिमाइज्ड गरेर भने, ‘कागजी बाघ’। सारा जगत थर्काउने परमाणु शक्तिको भ्यालुलेस भयो।

स्टालिनको छोरा हिटलरको सेनाले मारिदिँदा उनले तमाम नौजवानलाई आफ्ना छोरा भनिदिए। त्यसले देशका लागि लड्ने रूसी लालसेनाको संख्या एकाएक बढाइदियो। यी सबै वाक्यांशमा व्यक्तिगत स्वार्थको गन्ध थिएन।

माओवादी युद्वमा घन्किएको समानताको नाराले असमान व्यवहार खेपिरहेकालाई एकगठ गर्न ठूलो मद्दत मिलेको थियो। त्यसैले नेताको एउटा वाक्य नै काफी हुन्छ, जसले तमाम मान्छेलाई एकैसाथ संगाठित र संघर्षशील बनाइदिन्छ।

आइतबार मुख्यमन्त्री शाहीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक ठूलो कोठामा भेला गरेर माथिको वाक्य बोल्दा चिकित्सकहरू लगभग माथि भनेझैं कल्पनामा डुबिसकेका हुँदा हुन्। तर उनको यो सशक्त वाक्यलाई प्रतिष्ठानका रेक्टर डा. निरेश थापाको अर्को वाक्यले खण्डन गरिदियो। उनले भने, ‘हामीले कर्णालीका सबै जिल्लामा स्वास्थ्याकर्मीको टोली पठाउने तयारी गरेका थियौं। तर केही लजिष्टिक प्रोब्लमका कारण पठाउन सकेनौं।’

यसबेला याद आउँछिन्, भारतीय विश्लेषक अरून्धोती रोय। उनले केही कोभिड–१९ कै कहरमा अमेरीकालाई प्रश्न गरेकी थिइन्, ‘के युद्वको बेला अमेरिकाले आफ्ना सेनालाई हतियारबिनै मैदानमा पठाउँथ्यो?’ त्यहाँ चिकित्सकले प्रयोग गर्ने अत्यावश्यक सामग्रीसमेत अभाव भइरहेको छ। उनले यो महत्त्वपूर्ण प्रश्न उठाइदिइन्। त्यसैगरी कर्णालीका चिकित्सकले लजिष्टिक प्रोब्लम भोगिरहेका थिए र हतियार बिनाका युद्व सिपाही भइरहेका थिए।

मुख्यमन्त्रीको पार्टीका पत्रकार नेताहरू मार्फत आकस्मिक रूपमा बोलाइएको उक्त भेलामा म पनि हतारहतार पुगेँ। पुग्न केही ढिलो भइसकेको थियो। हल खचाखच भरिएको थियो। सेता एप्रोन लगाउनेले माक्स लगाएका थिए। यस्तो लाग्छ, माक्स लगाएपछि कोरोना तीन फिट टाढा भाग्छ। मान्छेले तीन फिट टाढा बस्नै पर्दैन। अरू कोही माक्स र बिना माक्समा उपस्थित थिए। व्यक्ति व्यक्ति बीचको दूरी कुन चराको नाम जस्तो थियो। मञ्चमा नेताहरूको लहर कर्‍याङ्कुरुङ चराको जस्तो थियो। पल्लो छेउकी अतिथि सिडिओ दुर्गा बन्जाडेदेखि वल्लो छेउकी अतिथि स्वास्थ्य निर्देशक रमा भण्डारी जोशीसम्मको लहरले निकटता प्रदर्शन गरिरहेको थियो।

हलमा मुख्यमन्त्री खेमाका एक प्रदेशस्तरका नेताले इसारा गरेको सिटमा म बसेँ। डर उम्तै लागेको हो, तर सारा मान्छेलाई बाल नभएपछि म पनि सुरो बने। बस्नेवित्तिकै उनले मुख्यमन्त्रीको तारिफ गरे, ‘मुख्यमन्त्रीले खुब हँसाए। यी पनि कलाकारै रहेछन्।’ भनेपछि मुख्यमन्त्री हँसाउँछन्। हाँस्नु पनि स्वस्थ्यको लागि राम्रो हो। चुप लागेँ। उनले के विषयमा हँसाएछन् ढिलो पुगेको मैले भेउ पाइनँ।

त्यसपछि यो लेख तयार पारूञ्जेल मलाई लागेको कुरा यहाँ उल्लेख गर्नु उपयुक्त हुन्छ। यदि मलाई कोरोना लाग्यो भने ट्राभल हिष्ट्रि मूख्य मन्त्रीको त्यही कार्यक्रमबाट सुरू हुनेछ। किनभने म मुख्यमन्त्री जुम्ला नआउन्जेल सरकारी अनुशासनमा बाँधिएको थिएँ। सरकारले २५ जना भन्दा बढीको हुल नगर्नु भनेको छ। ‘खुरूखुरू अनुशासित भएर सय जना मान्छे अटाउने हलमा नगएको भए किन कोरोना लाग्थ्यो?’ यस्तै प्रश्नले पिरोलिरहन्थ्यो होला। यही बेला कार्यकक्रममा सामाजिक विकास मन्त्री दल रावलले भनेको कुरा याद आउँछ, ‘पैसाले मात्रा कोराना जितिने रहेनछ। संरचना र उपकरणले मात्र पनि नियन्त्रण नहुँदो रहेछ। कोराना संक्रमण फैलन नदिन त नागरिकमा अनुशासन चाहिँदोरहेछ।’

सायद उनले यो मिठो वाक्य जिब्रोमा तौलिएरै फ्याँकेका थिए। उनले मात्रै कहाँ होर मुख्यमन्त्रीले पनि त उसैगरी वाक्य फ्याँके, ‘अनुशासित भएर लाकडाउनको पूर्ण पालना गर्नुपर्छ।’ मिडियामा यस्तै आएको छ। कोरोना नियन्त्रण गर्न नागरिकमा अनुशासन चाहिने हो, नेताहरुले सिकाउने नैतिकताको पाठ घोगेको हुनुपर्ने हो। अनि भाग्थ्यो, कोरोना। नेता, मुख्यमन्त्री, मन्त्री हुनेले त भाँडभैलो गर्दा पनि हुन्छ। कानुन बनाउने ठाउँ संसदकै सभामुखले भाँडभैलो गरेको देशमा सभ्य व्यवहावाला भेटियो भने त्यो काँसीको जलले नुहाएर आएको रहेछ भनि सम्झे पनि भयो।

प्रश्न उठ्छ, आमसभामा चोर औंला जनतातर्फ तेर्स्याउँदै बोल्ने नेतारुहरू किन सम्झिन्नन् कि, आफूलाई आफ्नै औंलाहरूले प्रश्न गरिरहेका हुन्छन् भनेर?

२५ जनाको कुरा छोडौं ५ जना मात्र पनि सडकमा हिँडेको देख्यो भने पुलिसले बाउको बिहे देखाउँछ। यही उपद्रो मुख्यमन्त्रीले गर्दा केही देख्नुनपर्ने? यसले हामीलाई चुप लागेर बस्ने अनुमति दिन्नँ। यदि चुप लागिहालेमा समयले सराप्छ। त्यसैले खोतल्न मन लाग्छ, मुख्यमन्त्री शाही र उनको टोलीको एक दिने ट्राभल हिष्ट्रि।

बिहान ११ नबज्दै (9N-ALD) हेलिकप्टरमा सवार मूख्यमन्त्री शाहीको टोलीले जुम्ला विमानस्थलमा राजकीय अवतरण गर्छ। टोलीमा सामाजिक विकास मन्त्री दल रावल, प्रमुख सचिव टेक नारायण पाण्डे र स्वास्थ्य निर्देशक रमा भण्डारी जोशी हुन्छन्। टोलीले सरकारी गाडीको साइरनममा ‘दुई तारे’ होटल कान्जिरोवामा पाकेको पञ्च परिकारयुक्त भोजन गर्छ।

केही छिनको आराम पश्चात टोली लावा लस्करसहित प्रतिष्ठान पुग्छ। अस्पताल अनुगमन गर्छ। कोरोना रोकथाम तथा नियन्त्रणको लागि तयार पारेको अस्पताल ठिक छ, छैन, मापदण्ड अनुसार भयो, भएन यस्तै जाँच हुन्छ। बिरामीलाई डाक्टरले जाँच गर्छन्, डाक्टर र अस्पताललाई मुख्यमन्त्रीको टोलीले। जसलाई मुख्यमन्त्रीले अलि पछाडिको भेलामा सिपाहीको दर्जा दिने रहेछन्, उनीहरुले मिलाएको वन्दोबस्त जाँच गर्न उनी आफैं पुगे। उनले सिपाहीमाथि विश्वास गरे कि अविश्वास त्यो ‘दैव जानुन्’ भने जस्तै भयो। तर उनको टोलीसँग एउटा तर्क भने हुनसक्छ, ‘चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि अस्पताल अनुगमन गरेका थिए हामीले गर्न किन नहुने?,’ तर्कको खडेरी कहाँ पो छ र?

जे होस् यात्रालाई उपलब्धिपूर्ण बनाए। कसैले प्रश्न गरिहाले पनि मुखभरी जवाफ फर्काएर चैनको निद्रा सुत्ने ठाउँ रहेछ। हुन त ‘तिमी कम्युनिष्ट भएर पनि भ्रष्टाचार गर्नु हुन्छ भनी प्रश्न गर्दा, काँग्रेसले गर्न हुने हामीले गर्न नहुने ?’ भनेर उल्टै प्रश्न गर्ने ठाउँमा अनुगमनको उत्तर त झन् सजिलो हुने नै भयो। एक कक्षाका विद्यार्थीले पनि दिन सक्ने जस्तो।

लगत्तै मुख्यमन्त्रीको नाममा कोठे भेला आयोजना हुन्छ। माथिका मिठा वाँणीको प्रसार त्यहीँबाट हुन्छ। भेला कसले गर्‍यो? किन गर्‍यो? वा कसैले गर्न लगायो कि? त्यो अलग वात हो। तर २५ जना भन्दा बढी केही गरी भेला नहुनु भनि गरिएको सरकारी उर्दीको धज्जी उडाउने काम मुख्यमन्त्रीको टोलीले नै गर्‍यो। हुन त चार मान्छे बोलाएर भाषण गर्न नपाएको पनि डेढ महिना बढी हुन लागिसकेछ। त्यही झोकमा जोखिम निम्तने गरि भेला गर्दिर्ने मुख्यमन्त्रीको दुस्साहसलाई के भन्ने, जायज कि नाजायज?

उनको जुम्ला सवारको खबरलाई नागरिक दैनिकले ‘कर्णाली जोखिममा छ’ भन्ने शीर्षकमा छापेको छ। यो जोखिम कसले निम्त्याएको हो? मुख्यमन्त्रीले कि अनुशासन कायम गर्नुपर्ने जनताले? जनताले अनुशासन कायम नगरेर हो की नेता ओभर स्मार्ट बनेर हो?

प्रदेश सरकारले नागरिक उद्धारको स्पष्ट मापदण्ड बनाउन सकेन। उल्टै उद्धारको नाममा मन्त्रीहरू च्यारीटी गर्दै हिँडे। मुख्यमन्त्री हेलिकप्टरमा सवार भई कर्णाली जोखिममा भनेर जनता त्रसित बनाउँन कहाँसम्मको मिल्दो भर्सन हो? यतिले मात्र कुरा सकिएको छैन। आर्थिक वर्षको उत्तरार्धमा आइपुग्दा प्रदेशले १४ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ। अब यो खर्च कसरी बढ्छ त? यसको सरल जवाफ छ, मुख्यमन्त्री तथा मन्त्रीहरु यसरी नै हेलिकप्टर मार्फत जिल्ला जिल्लामा राजकीय भ्रमण गर्नेछन्।

मुख्यमन्त्रीले आइतबार एक दिन जुम्ला अस्पताल अुनगमन तथा मापदण्ड विपरितको कोठे भेलालाई सम्बोधन गर्न कम्तिमा पनि १० लाख बढी हेलिकप्टर रिजर्भ गरेर खर्च गरेका छन्। मुख्यमन्त्रीले दसौं लाख खर्चेर अस्पतालको मापदण्ड जाँचे, तर आफैंले भने थुप्रै मापदण्ड मासे। उपस्थित सबैलाई हँसाए। सकियो।

लगत्तै मन्त्री रावल केही चिकित्सकको टोली लिई हुम्ला पुगेर फर्किए। यता मुख्यमन्त्रीले जिल्ला समन्वयमा अर्को भेला गरे। स्थानीय तहका प्रमुख, स्थानीय प्रशासन, समन्वयका पदाधिकारी र कार्यकर्ता भेट गरे। साँझको भुजा सेवन र बासको लागि बिहानको होटले चेन्ज गरे। पौवा नामको अर्को दुई तारे होटेलमा बसे। बिहानै फर्किने तालिका सहित। उनको एक दिनको हिरोइजमले माथिको पपुलर वाक्यलाई ‘फ्लप’ गरिदियो।

प्रकाशित मिति: : 2020-05-11 09:20:00

प्रतिकृया दिनुहोस्