स्क्रब टाइफस र औलोका बिरामी बैतडीमा यो वर्ष पनि फेला पर्न थाले

सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा स्क्रब टाइफस र औलोका बिरामी फेला पर्न थालेका छन् । पछिल्ला केही वर्षयता बैतडी जस्ता पहाडी जिल्लामा पनि औलोका बिरामी देखिन थालेका हुन् ।

इनोफेलिज जातको पोथी लामखुट्टेको टोकाइबाट हुने औलो ज्वरोका बिरामी यो वर्ष पनि देखिन थालेका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

जिल्लाको शिवनाथ गाउँपालिका–२ जोलापानीकी ६ वर्षीया अस्मिता साउदमा औलो रोग भएको पुष्टि भएको छ । केही दिनअघि ज्वरो आएकी साउँदको परीक्षण गर्दा औलो देखिएको शिवनाथ गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र महताले बताए ।

साउदको अहिले उपचार भइरहेको छ । एकजनाको औलो देखिएपछि उनका घरपरिवारका अन्य सदस्यहरूको औलो परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको छ ।

पोथी लामखुट्टेको टोकाइबाट औलो सर्ने भएकाले सुत्ने बेला झूलको प्रयोग गरेर सुत्ने, घर वरिपरिको वातावरण सफा राख्नुपर्नेमा स्वास्थ्यकर्मीहरूले जोड दिएका छन् ।

यस्तै बैतडीको दशरथचन्द नगरपालिका–६ का एक ४८ वर्षीय पुरुषमा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको छ ।

ती पुरुषमा अत्यधिक ज्वरो आउने भएपछि धनगढीको माया मेट्रो अस्पतालमा चेकजाँच गर्दा स्क्रब टाइफस पुष्टि भएको हो । माइटका कारण सर्ने यो रोगबाट गत साल बैतडीमा ४० भन्दा बढी सङ्क्रमित भएका थिए ।

प्रकाशित मिति: : 2020-05-11 08:21:42

प्रतिकृया दिनुहोस्