लिपुलेकमा भारतले बाटो बनाएको विरोधमा संसद भवन अगाडि प्रदर्शन

बिएल संवाददाता

काठमाडाै‌ं

भारतले लिपुलेकस्थित नेपाली भूमि मिचेर चीनको मानसरोबर जाने सडक निर्माण गरेको विरोधमा युवा विद्यार्थीहरुले संसद भवन अगाडि प्रदर्शन गरेका छन्।

आइतबार बिहान संसद बैठक सुरु हुन लाग्दा युवा सीमा बचाउ अभियान अन्तर्गतका युवा–विद्यार्थीहरुले नाराबाजीसहित प्रदर्शन गरेका हुन्। 

प्रदर्शनकारीहरु संसद भवनमा प्रवेश गर्न खोजेका थिए। केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ। यसअघि उनीहरुले शनिबार माइतीघरमा प्रदर्शन गरेका थिए।

हिजो मात्रै भारतीय रवैयाको विरोध गर्दै सडकमा उत्रिएका नेपाली सेनाका पूर्वसहायक रथी प्रेमसिंह बस्न्यात र सशस्त्र प्रहरीका पूर्वएआईजी ठाकुरमोहन श्रेष्ठ  पक्राउ परेका थिए।

यस्तै भारतीय दुतावास अगाडि विद्यार्थीहरुले विरोध प्रदर्शनमा उत्रिएका  सत्तारुढ नेकपा निकटको विद्यार्थी संगठन अनेरास्ववियूका नेताहरुलाई पनि पक्राउ परेका थिए।

उनीहरुसहित  ३५ जनालाई छाडिसकेको मेट्रो प्रहरीका प्रमुख डिआइजी विश्वराज पोखरेलले बताए।

उनीहरु सबैलाई प्रहरीले लकडाउन उल्लंघन गरेकाले पक्राउ गरेको डिआइजी पोखरेलले जानकारी दिए।
 

प्रकाशित मिति: : 2020-05-10 11:38:36

प्रतिकृया दिनुहोस्