चीनका शीर्ष स्वास्थ्य अधिकारीले देशको स्वास्थ्य सेवा प्रणाली कमजोर रहेको स्वीकार गरेका छन्।
नेशनल हेल्थ कमिसनका निर्देशक लि बिनले कोरोना भाइरसको महामारी स्वास्थ्य सेवाका लागि ठूलो परीक्षा रहेकोमा चिनियाँ स्वास्थ्य सेवा प्रणाली असफल भएको स्वीकार गरेका हुन्।
लिले पत्रकारसँग महामारी चीन सरकारका लागि महत्वपूर्ण चुनौति बनेर आएको बताए। उनले भनेका छन्, ‘यसले हामीले मुख्य महामारीहरुमा कसरी सम्बोधन गर्छौँ र त्यहाँ कस्ता कमजारीहरु छन् भन्ने देखाएको छ। हाम्रो सार्वजनिक स्वास्थ्य प्रणाली कमजोर रहेको पनि देखियो।’
चीनले अति सुस्त गतिमा महामारीको सुरुवाति चरणमा काम गरेको अभियोग लाग्दै आएको छ। यस्तै चनिले अन्तर्राष्ट्रिय समुदायलाई तत्काल सचेत नगराउँदा महामारी अहिलेको अवस्थामा पुगेको आरोप पनि लाग्दै आएको छ।
तर उनले चीन आफ्नो रोग नियन्त्रण तथा रोकथाम क्षमता, सार्वजनिक स्वास्थ्य प्रणाली र तथ्यांक संकलनलाई व्यवस्थित तथा परिस्कृत गर्नमा लागि परेको बताए।
भाइरसको उत्पतिका बारेमा स्वतन्त्र अन्तर्राष्ट्रिय अनुसन्धानको माग चीनले अस्वीकार गरेको छ। गएको अप्रिलमा युरोपियन युनियनले चीनले महामारीका सम्बन्धमा सही सूचना नदिएको सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको थियो।
कोरोना भाइरसका कारण चीनमा अहिलेसम्म ४६ सय ३७ जनाको मृत्यु भएको जोन हप्किन्स विश्वविद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रले उल्लेख गरेको छ। चीनमा संक्रमितको संख्या झण्डै ८४ हजार रहेको छ।