कहर कोरोनाको

(शार्दूलविक्रीडित छन्दमा - कोभिड-१९ कविता)

कोरोनाकन मार्न सक्छ कसले कोर्रा, जगत् आत्तियो
देखी मानिसको महाविवशता, यो राेग झन् मात्तियो
यस्तो कोप कि हो कतै प्रकृतिको या मानवी दुष्टता?
आफ्नै वंश-लता सखापतिरको कल्ले गऱ्यो धृष्टता?
(१)

बाटो बन्द हुने गरेर यसको मारेर ताला बसौँ 
छातीमा यसका यसै नियमले ताकेर भाला धसौँ
अर्को युक्ति छ चित्त हुन्छ बलियो एकाग्र माला जपौँ
चर्खाझैँ दिनरात घुम्छ पृथिवी यो दुष्ट जाला खपौँ। 
(२)

कोरोना किन भो असाध्य यसरी? छक्कै  छ वैज्ञानिक
स्पर्धामा पछि पर्दछ प्रकृतिको कच्चै छ वैज्ञानिक 
खोजीमा उपचारको कटि कसी पक्कै छ वैज्ञानिक
पायो चाल अझै सयौँ विषयमा बच्चै छ वैज्ञानिक।  
(३)

हार्ला यो जति नै  हठी किन नहोस् ,सङ्घर्ष जारी रहोस्
नाकाबन्द गरेर संक्रमितको बाटो उतै बन्द होस्
झार्ला यै सजिलो उपाय यसको सेखी अवश्यै पनि
कोरोना कुन नामको र’छ चरो?सोध्लान् सबैले अनि। 
(४)

बस्छन् संयममा जनावरहरू पन्छी पखेरूहरू
बस्छन् संयममा अचूक जलका माछादि प्राणी बरु
मान्छे मात्र यहाँ अहो मनपरी आचार-छाडा भयो
फोस्रो भौतिकवादमाथि यसको आसक्ति गाढा भयो। 
(५)

सोझा सज्जनमाथि कष्ट खनियो कर्तृत्वले धूर्तका
बिग्र्यो सुन्दरता उता प्रकृतिको दुष्कर्मले दुष्टका
हानी भोग्नु-पऱ्यो स्वयं मनुजले ज्यादै नराम्रोसित
निम्त्यायो यसले विनाश-जगको-आयो इतिश्री कि त?
(६)

हैजाले अघि लाख लाख जनता खायो कति प्लेगले
खायो धेर सुनामिेले पनि अहो! खायो नि! भूकम्पले
आए धेर विनाशका कहर ती खाए अघाए गए
पृथ्वीमा रहनेहरू रहिरहे आबाद झन् झन् भए। 
(७)

कोरोना तँ अघाउलास् अब छिटै खालास् कहाँसम्म लौ!
हाम्रो युद्ध चली रहन्छ तँ यहाँ बस्लास् जहाँसम्म लौ!!
योद्धा जित्छ त युद्ध लोकहितमा, लड्दै मरे तापनि
जाला पूज्य बनेर वीरगतिमा त्यो दिव्य-आत्मा अनि।
(८)

हार्ने होइन यी कुराकन बुझी हाऱ्यौँ त हामी भने
हार्ला मानवता र आजित भई कल्पेर होला रुने
भोग्यौँ रौद्र हिरोशिमादि पहिले हाऱ्यौँ कहाँ के कति?
हाऱ्यो क्रूर अमानवीय खल-त्यै-विस्तारवादी गति। 
(९)

लाखौँ युद्ध लड्यौँ जित्यौँ-कति-मऱ्यौँ बाँच्यौँ बचायौँ कति
हाऱ्यौँ हार मिल्यो तथापि रणमा भाग्यौँ कहाँ पीठ दी?
ऐलेको यस युद्धमा पनि डटौँ पक्का विजेता बनी
छाड्ने छौँ, अब छैन छैन यसमा अर्को विकल्पै भनी। 
(१०)

कोरोना अब होस् पराजित छिटो भन्ने छ इच्छा तर
मुङ्ग्रो कानुनको नभैकन दरो बस्तैन मान्छे घर
कोरोना-पछिको गरौँ न जन हो! संसारको कल्पना
मुङ्ग्रोका खतरा टरे मनुजका छुट्लान् मनोवासना?
(११)

कोरोनाणु विषाणु हो कहर यो सर्ने छुँदा छोइँदा
पानी साबुनले मिची कर दुवै, मर्ने किरो धोइँदा
मान्छेबाट परै रहेर मुखमा लाई मुखौटो अनि
सक्छौँ जोगिन सानिटाइजरको बानी बसाली पनि। 
(१२)

प्रकाशित मिति: : 2020-05-09 15:00:00

प्रतिकृया दिनुहोस्