चिनियाँहरुलाई नेपालको नीति–नियम पालना गर्नका लागि काठमाडौंस्थित चिनियाँ दूतावासले अनुरोध गरेको छ।
घर फर्कन पाउनु पर्ने भन्दै शुक्रबार सिंहदरबारको मुख्य गेट अगाडि धर्ना दिन आएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएपछि दूतावासले एक विज्ञप्ति निकाल्दै उक्त आग्रह गरेको हो।
‘नेपालमा रहेका चीनका नागरिकसँग कडा रुपमा नेपालको नीति–नियम पालना गर्न चिनियाँ पक्षले सधैं भन्ने गरेको छ, उनीहरुलाई कानूनसम्मत रुपमा तर्कसंगत माग राख्न भनिएको छ,’विज्ञप्तिमा उल्लेख छ।
दूतावासले लकडाउनको समयमा नेपालको नीतिनियम पालना गर्नका लागि चिनियाँ नागरिकलाई पटक–पटक स्मरण गराएको छ र अनाश्यक रुपमा बाहिर ननिस्कन भनेको विज्ञप्तिमा उल्लेख छ।
दूतवासकका अनुसार लकडाउनले गर्दा नेपालमा अलपत्र परेका झन्डै ३ सय ४० जनालाई घर फर्काइ सकेको छ। तर ३१ मेइ सम्मका लागि नेपाल सरकारले नियमित अन्तर्राष्ट्रिय उडान रद्द गरेपछि केही नागरिक अझै नेपालमै अलपत्र परेका छन्।
यस विषयमा नेपाली पक्षसँग संवाद भइरहने र नेपाल र चीनले एकअर्कालाई बुझेर लकडाउन नियमका कारण उत्पन्न विभिन्न घटनालाई संयुक्त रुपमा सम्बोधन गर्ने विज्ञप्तिमा उल्लेख छ।