भारतीय सर्वाेच्च अदालतले विभिन्न राज्यहरुलाई मदिरा होम डेलिभरी अर्थात् घर दैलोमै मदिरा पु-याउनेबारे विचार गर्न सुझाव दिएको छ।
मदिरा अप्रत्यक्ष बिक्री र पसलमा भीड जम्मा हुनबाट रोक्नका लागि याचिका दायर भएपछि सर्वोच्चको यस्तो सुझाव आएको हो।
भारतमा १७ मे सम्म भारतमा लकडाउन बढाइएको छ। यसपछि गृह मन्त्रालयले मदिरापसल खोल्ने अनुमति दिनका लागि राज्यहरुलाई निर्देशन दिएको थियो। त्यसपछि राज्यका मदिरापसल खोलिए। पसलमा धेरै ठूलो भीड जम्मा भयो र सामाजिक दूरीको नियम उल्लंघन भयो। यसपछि छत्तिसगढ, पश्चिम बंगला र पञ्जाब राज्यमा होम हेलिभरी सुविधा सुरु भयो। दिल्लीमा ई– टोकन सेवा सुरु भएकाे थियाे।
याचिकाकर्ताले सर्वोच्च अदालतसँग मदिरा पसलमा जम्मा भीडकै कारण आम मानिसको जीवन कोरोनाबाट प्रभावित नहोस् भन्ने चाहेको बताएका थिए। इजलासका न्यायधिसहरुले होम डेलिभरीबारेको चर्चा पहिलेदेखि नै चलिरहेको बताए।
तर याे विषयमा न्यायमूर्ती अशोक भूषणका इजलाशले कुनै स्पष्ट आदेश भने दिएन। याचिकामा मदिरा व्यापारबारे स्पष्ट गर्न माग गरिएको थियो र लकडाउनका दौरान मदिरा पसलमा शारीरिक दूरी पालना गर्नका लागि निर्देशन दिन भनिएको थियो।
न्यायमूर्ती अशोक भूषणले यसबारे कुनै पनि आदेश पारित नगर्ने बताए, तर राज्यहरुले मदिराको अनलाईन बिक्री र होम डेलिभरीबारे विचार गर्नुपर्ने सुझाव दिए।