बन्दाबन्दीका कारण किसानले उत्पादन गरेका कुखुरा बिक्रीवितरणमा समस्या भएपछि अनुदान उपलब्ध गराइएको छ।
छत्रकोट गाउँपालिकाले २७ कुखुरा फार्म सञ्चालक किसानका लागि रु तीन लाख ५४ हजार अनुदानस्वरुप उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थले जानकारी दिए।
'लकडाउनका कारण बजारमा कुखुरा बिक्रीवितरणमा समस्या परेको गुनासो आएपछि पालिकाले किसानलाई अनुदान उपलब्ध गराएको हो' उनले भने, 'गाउँपालिकाले फार्मका सात हजार ८० ब्रोइलर कुखुरालाई प्रतिकुखुरा रु ५० का दरले अनुदान उपलब्ध गराएको हो।'
पालिकाले अनुदान उपलब्ध गराउन गाउँपालिका उपाध्यक्ष नर्मदा भण्डारीको संयोजकत्वमा प्रमुख प्रशासकीय अधिकृत र पशु सेवा शाखा प्रमुख सदस्य रहेको अनुगमन समिति गठन गरेको थियो।
अनुगमन समितिले प्रत्यक्ष रुपमा पालिकाका सबै कुखुरा फार्मको अनुगमन तथा निरीक्षण गरी व्यवसायीलाई अनुदान उपलब्ध गराएको हो।
गाउँपालिकाको अनुदान दिने निर्णयले व्यवसायी खुशी भएको छत्रकोट –२ पल्लीकोटका कुखुरा फर्म सञ्चालक डिल्लीराज खनालले बताए।