बिहीबार स्वाब संकलन गरिएका संघीय संसदका सदस्य (सांसद) र कर्मचारी तथा सुरक्षाकर्मी गरी सबै ४ सय ४१ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
आज (शुक्रबार)देखि शुरु हुने वर्षे (बजेट) अधिवेशनलाई लक्षित गरी बिहीबार संघीय संसदका सांसद, कर्मचारी तथा सुरक्षाकर्मी (मर्यादापालक)को गरी ४ सय ४१ जनाको स्वाब संकलन गरिएको थियो ।
सबै स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । प्रयोगशालाले केही अगाडि मात्रै सबै जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको भनेर संघीय संसद सचिवाललाई जानकारी गराएको छ ।
बिहीबार प्रतिनिधिसभाका सदस्य १ सय ७९ जना, ३३ जना राष्ट्रिय सभा सदस्यको स्वाब संकलन गरिएको थियो । यस्तै, संसद सचिवालयका कर्मचारी र मर्यादापालक २ सय २९ जना गरी ४ सय ४१ जनाको स्वाब संकलन गरिएको थियो ।
राष्ट्रिय जनस्वास्थ्य प्रगोशालामा पीसीआर विधिबाट गरीएको परीक्षणमा ४ सय ४१ जनाकै रिपोर्ट नेगेटिभ आएको संघीय संसदका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले जानकारी दिए ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मेडिकल ल्याबरोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) सँगको सहकार्यमा संघीय संसदका सांसद तथा कर्मचारीहरुको बिहीबार र शुक्रबार गरी ६ सय ८९ जनाको थ्रोड स्वाब संकलन गरेको थियो ।
मेलानका संस्थापनक अध्यक्ष एवं संरक्षक कृष्ण प्रसाद रिजालका अनुसार आज (शुक्रबार) संकलन गरीएका २ सय ४८ जनाको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणको क्रममा रहेको छ । शुक्रबार संकलन भएका नमूनाको रिपोर्ट पनि साँझ सम्म आउने मेलाका संस्थापक अध्यक्ष एवं संरक्षक रिजालले जानकारी दिए ।