३६ किलोमिटर पैदल यात्रा, आराम खोज्दा १६ जनाको एकै चिहान

कोरोना भाइरसकाे महामारीले सबैभन्दा धेरै मजदुरहरुलाई रुवाएको छ। कामकाज रोकिएको छ। उनीहरुको दैनिकी तनावपूर्ण छ। रोजगारी गर्न शहर पसेकाहरु अलपत्र परेका छन्। जताततै बन्दाबन्दी (लकडाउन) लागू छ। यस्तो अवस्था मजदुरहरु पैदलबाटै एक ठाउँबाट अर्को ठाउँको यात्रा गर्ने गरेका छन्।

शुक्रबार १६ जना मजदुरहरू भारतको महाराष्ट्र राज्यको औरंगाबादमा दुर्घटनाको शिकार भए। ३६ किलोमिटर पैदल यात्राको थकानले आराम खोज्दा उनीहरु एकै चिहान बन्नुपर्‍यो। बन्दाबन्दीले मजदुरहरुको काम रोकिएको थियो। उनीहरुले घर पुग्न पैदलमै यात्रा तय गरे, अपसोच दुर्घटनाको शिकार भए र गाउँ पुग्ने आशा नै मर्‍याे।

मजदुरहरु लामो दुरीको यात्राले थकित बने। उनीहरुले औरंगाबादको बदनापुर–करमाड रेलवे स्टेशन नजिक आराम गरिरहेका थिए। एउटा मालवाहक रेल एक्कासी आयो र मजदुरहरूलाई कुल्चियाे। यस दुर्घटनामा १६ कामदारको मृत्यु भएको छ। अन्य कामदारहरू घाइते भएका छन्। 
भारतीय रेलले जारी गरेको प्रेस विज्ञप्ति अनुसार मरिसकेका मजदुरहरू मध्य प्रदेशका भएको बताएको छ। उनीहरु महाराष्ट्रको जालनामा एसआरजी कम्पनीमा कार्यरत थिए।

सबै मजदुरहरू जालनाबाट यात्रा सुरू गरेको बताइएको छ। उनीहरु सडकमा आउँदै थिए, तर औरंगाबादको नजिकै आउँदा उनीहरू रेलको लिगबाटै हिडिरहे...। यात्राकै क्रममा थकित भएपछि आराम गर्न बसेका मजदुरलाई मालवाहक रेलले ज्यान लिएको भारतीय रेल्वे अधिकारीहरुले बताएका छन्।

प्रकाशित मिति: : 2020-05-08 12:10:47

प्रतिकृया दिनुहोस्