कपिलवस्तुका कोरोना संक्रमित मुम्बईबाट आएकाे पुष्टि, थप उपचारका लागि बुटवल ल्याइयो

कपिलवस्तुका कोरोना संक्रमित दुई युवालाई बुटवलस्थित कोरोना विशेष अस्पतालमा ल्याइएको छ। मायादेवी गाउँपालिका–२, अभिरावका  १६ र २२ वर्षेका दुई युवकलाई थप उपचारका लागि शुक्रबार बिहान बुटवल ल्याइएको हो।

उनीहरुलाई तौलिहवा उद्योग वाणिज्य संघको एम्बुलेन्समा बुटवलस्थित धागो कारखानामा बनाइएको कोरोना विशेष अस्पतालको आइसोलेसनमा पठाइएको मायादेवी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख महेन्द्र यादवले जानकारी दिए। 

वैशाख २४ गते कपिलवस्तुका ६५ जनाको थ्रोट स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो।

त्यसमध्ये बिहीबार यी दुई जनामा कोरोना पोजिटिभ देखिएको थियो।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ । कुल संक्रमितमध्ये ७३ जना पुरुष र २८ जना महिला रहेका छन्।

प्रदेश नम्बर १ मा ३१, प्रदेश नम्बर २ मा ३०, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश नम्बर ५ मा २६, सुदूरपश्चिम प्रदेशमा ५ जनामा संक्रमण देखिएको छ। यस्तै कर्णाली प्रदेशमा भने हालसम्म संक्रमित भेटिएका छैनन्। कर्णाली अहिलेसम्म ‘सेफ जोन’मा रहेकाे छ।

तीमध्ये १९ जना निको भएर घर फर्किएका छन्। यस्तै उनले उपचारपछि डिस्चार्ज भइसकेका तीन जनामा पुनः संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको छ।

मुम्बईबाट ४ दिनअघि आएका संक्रमित

कपिलवस्तुका दुई युवब लकडाउनकै बीच भारतको मुम्बईबाट चार दिनअघि नेपाल प्रवेश गरेको पुष्टि भएको छ।

उनीहरुका वैशाख २३ गते कपिलवस्तुको पकडी नाकाको दक्षिणतर्फको खुला सीमाबाट नेपाल आएको कपिलवस्तुका प्रहरी प्रमुख दीपशमशेर जबराले बताए।

लुकिछिपी भारतीय सीमा हुँदै नेपाल प्रवेश गरेका उनीहरुलाई स्थानीयले मायादेवी गाउँपालिकाकै तीर्थादेवी छत्रपाली माविको क्वारेन्टाइनमा राखेका थिए।

अन्य चारजना युवाहरू पनि उनीहरु सँगै आएको सूचना आएको र खोजी कार्य भइरहेको कपिलवस्तु प्रहरी प्रमुख जबराले बताए।

उनीहरूको यात्रा विवरण र सम्पर्कमा रहेका व्यक्ति पहिचान गर्न आजदेखि प्रहरी र स्वास्थ्यकर्मी परिचालन गरिने सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख उमाशंकर चौधरीले जानकारी दिए।

कपिलवस्तुका दुईजनामा संक्रमण पुष्टि भएसँगै प्रदेश ५ मा संक्रमितको संख्या २६ पुगेको छ।

प्रकाशित मिति: : 2020-05-08 11:24:18

प्रतिकृया दिनुहोस्