उपत्यका भित्रने नाकाहरूमा अनुगमन, चेकजाँचमा थप कडाई

बिएल संवाददाता

काठमाडाै‌ं

जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालसहितकाे टाेलीले बुधबार उपत्यका भित्रने नाकाको अनुगमन गरेका छन्। 

प्रजिअधि दाहालसहित, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाल, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले काठमाडौं उपत्यका भित्रिने मुड्खु, नागढुङ्गा, साँखु, जगाती, भिमढुङ्गा नाकाहरूको अनुगमन गरेको  हो। 

काठमाडौं उपत्यका भित्रिने सवारी साधन र मानिसको आवागमनको विषयमा वस्तुस्थिती बुझ्न र नाकामा हुने चेकजाँच कडाई गर्नका लागि अनुगमन तथा निरीक्षण गरिको जनाइएको छ ।

काठमाडौं बाहिरबाट उपत्यकाभित्र धमाधम मानिसहरु लुकेर आउन थालेको खबर आएपछि वास्तविकता बुझ्न स्थलगत अनुगमनमा गरिएकाे ट्राफिक प्रहरी महाशाखाका एसएसपी ढकालले बताए ।
 
‘अत्यावश्यक मालबाहक सवारीहरूमा मानिसहरु लुकेर काठमाडौं आइरहेका छन् भन्ने सूचना मलाई आएको थियो । वास्तविकता के रहेछ भनेर आजसम्ममा हामी सबै नाकाहरूमा गयौ । हामीले नाकाहरूमा तीनचार घण्टा पनि बितायौ तर त्यस्तो पाइएन,’उनले भने।

रातारात मान्छे काठमाडौं भित्रिए भन्ने खबर बाहिर आएपनि त्यस्तो डरलाग्दो अवस्था नभएको उनले बताए। 

ढकालले भने, ‘ त्यस्तो डरलाग्दो अवस्था छैन। नाकाहरूबाट उपत्यकामा आवश्यक पर्ने खाद्यवस्तु, तरकारी ढुवानी गर्ने, पेट्रोलियम बस्तु ढुवानी गर्ने र बिरामी बोकेका एम्बुलेन्स मात्रै भित्रिँदै गरेका भेट्यौं। ती गाडिहरुमा चालक र सहचालक मात्र थिए ।’

उनले हामीले काठमाडौंको जनजीवनलाई सहज बनाउन जे सामाग्री आवश्यक पर्छ, ती सवारी साधनमात्र भित्रिन दिने र अन्य  सवारी साधनहरूलाई फर्काउने गरेको बताए।
 
ढकालले नाकाहरूमा खट्टिएका  सुरक्षाकर्मीहरुलाई केही समयका लागि नाकाहरूमा थप कडाइ गर्न निर्देशन दिएका छन्। साथै उनले हरेक नागरिकलाई सुरक्षा अवस्था गम्भीर रहेको भन्दै यस महामारी नियन्त्रण गर्न जो जहाँ छ, त्यहीँ बसेर सरकारको प्रयासमा साथ दिन आग्रह गरे।

 

प्रकाशित मिति: : 2020-05-06 15:49:46

प्रतिकृया दिनुहोस्