विश्व मानव समाज कोरोना (कोभिड–१९) को त्रासमा बाँचिरहेको छ। कोरोना भाइरस रोकथाम गर्न अनेकन प्रयास थालिए पनि नेपाल–भारतमा संक्रमित संख्या दिनानुदिन बढिरहेका छन्।
स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा अप्रिय घटना नभए पनि भारतमा पछल्लो समय कोरोनाबाट मृतक हुनेको संख्या बढ्नेक्रममा छ।
नेपालका लागि भारत अध्ययन र रोजगारी गर्न नजिकको गन्तब्य हो। यहाँ लाखौं नेपालीहरु बसोबास गर्ने कुरा सबैलाई जानकारी नै छ। यतिबेला कोरोनाको मार खेपिरहेको भारतमा अझै पनि लाखौं अलपत्र नेपालीहरु उद्धार र व्यवस्थित बसोबासका लागि नेपाल सरकार र दिल्ली दूतावासको समन्वयमा भारतको केन्द्रीय सरकार र राज्य सरकार कुरिरहेका छन्।
भारत सरकारको लामो बन्दाबन्दीले नेपालीको अवस्था दयनीय रहेको नेपाल सरकार र सरकारको आधिकारी निकाय किन देख्दैन-भारतमा रहेका नेपालीले बारम्बार गर्ने प्रश्न हो?
खासगरी यहाँ आउने नेपाली मध्ये अधिकांश सुदूरपश्चिम प्रदेशका नागरिक छन्। सुदूरपश्चिमका लागि भारतका बिभिन्न शहरहरू रोजगारीका लागि मुख्य गन्तब्य हो। कोरोनाको त्रासमा बाँचिरहेका धेरै सुदूरपश्मिेली नागरिकहरु नै छन्। नेपाल सरकार र दूतावासले अलपत्रहरुको चिन्ता र चासो नदिएपनि, सुदूरपश्चिम सरकार र स्थानीय तहले कुनै न कुनै पहल गर्नुपर्ने थियो। तर, प्रदेश र स्थानीय सरकारबाट पनि कुनै खास योजना देखिएन। भारतमा कोरोना कहरले आजित बनेका हामीहरुले सोचिरहेका थियौं – प्रधानमन्त्री केपी ओली र राजदूत नीलाम्बर आचार्यले नागरिकका पिडा नबुझे पनि मुख्यमन्त्री त्रिलोचन भट्ट, पूर्व उपप्रधानमन्त्री भीम रावल, मन्त्री लेखराज भट्ट लगायतबाट विशेष राहत र उद्धारको अपेक्षा गरेका थियौं। आफूलाई जनताका सारथि बताउने सुदूरपश्मिेली यी नेताहरुबाट कुनैपनि आशा पुरा नभएकोमा हामी दुःखी र आक्रोशित छौं।
भारतका बिभिन्न शहरहरुमा नेपालीहरु अलपत्र परेको महिना दिनभन्दा बढी हुदाँ पनि भारतका नेपाली दूतावास दिल्लीले कुनै पहल नगरेको गुनासाहरू अहिलेसम्म आइरहेका छन्। कोरोना त्रासले प्रवासी नेपालीमा मानसिक तनाबसँगै भोकभोकै बस्नु परेको छ। यस्तो अबस्थामा दूतावासले कुनैपनि उपयुक्त कदम नचाल्नु दुःख पक्ष हो। प्रवासी नेपालीहरुलाई नेपाल सरकार र प्रतिनिधि निकाय दूतावासले अप्ठेरोमा फसेका र खाना नपाएकाहरुलाई सहयोग र उद्धार नगरेकोप्रति हामीहरुको आपत्ति छ।
दूतावासले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय निकायको समन्वयमा भारतका बिभिन्न शहरहरुमा बसोबास गर्ने प्रवासी नेपालीहरुका लागि तत्काल राहत र उद्धारको पहल थालोस्। भारत प्रवासमा बसोबास गर्ने नेपालीहरुको रोजगारी र बाँच्न पाउँने अधिकारको पूर्णरुपमा सुनिश्तिता गरियोस्। सबैको जय होस् – नेपालको जय होस्।
भट्टराई साझा अन्तर्राष्ट्रिय सद्भाव समूह भारतका संयोजक हुन्।