देशलाई पुरानै अवस्थामा फर्काउन सुरु गर्दैछाैँ: राष्ट्रपति ट्रम्प

बिएल संवाददाता

न्युयाेर्क

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशलाई पुरानै अवस्थामा फर्काउने दाबी गरेका छन्।

अमेरिकामा हाल दैनिक २० हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदै आएको छ। यस्तै दैनिक मृत्यु हुनेको संख्या पनि एक हजार भन्दा बढी छ। तर ट्रम्पले देश अब पुरानै अवस्थामा फर्काउन सुरु गर्ने बताएका हुन्।

मंगलबार एरिजोनाका रहेको मास्क उत्पादन कम्पनीको भ्रमणको क्रममा ट्रम्पले भने, ‘हामीले अमेरिकालाई पुरानै अवस्थामा फर्काउँदै छौँ, अब आर्थिक गतिविधि सुरु हुने छन्।’

अमेरिकामा अहिलेसम्म १२ लाख तीन हजार पाँच सय भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जोन हप्किन्स विश्वविद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रले जनाएको छ। यस्तै अमेरिकामा ७१ हजार भन्दा बढीको कोभिड–१९ बाट ज्यान गएको छ।

अमेरिकी स्वास्थ्य अधिकारीले भने व्यवसायहरु खुला गर्दा कोरोना भाइरसको संक्रमण थप तीव्र गतिमा फैलिन सक्ने भन्दै चेतावनी दिएका छन्।

व्यवसाय खुला गर्न हतारो गरेर ट्रम्पले अमेरिकीको जीवनमाथि खेलवाड गरेको आरोप विपक्षीले लगाउँदै आएका छन्।

उनले आउँदो नोभेम्बरमा हुने चुनावमा आफ्नो पक्ष बलियो बनाउनका लागि अर्थतन्त्र खुला गर्ने मार्गमा सर्वसाधारणको जीवन नै जोखिममा पारेको आरोप विपक्षीको छ।

ट्रम्पको प्रमुख चुनावी मुद्दा आर्थिक वृद्धि हो र अहिले अमेरिकी अर्थतन्त्र अति गम्भीर रुपले प्रभावित भएको छ।
 

प्रकाशित मिति: : 2020-05-06 07:03:26

प्रतिकृया दिनुहोस्