लकडाउन ७ देखि १० दिनसम्म पुनः थप्न उच्चस्तरीय समितिको सिफारिस

बिएल संवाददाता

काठमाडाै‌ं

लकडाउन अवधि पुन ७ देखि १० दिनसम्म थपिने भएको छ।

कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि गठित उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले लकडाउन थप गर्न मन्त्रिपरिषदमा सिफारिस गर्ने निर्णय गरेको हो। यसबारे अन्तिम निर्णय मन्त्रिपरिषद् बैठकले बुधबार अपराह्न गर्ने छ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बसेको समितिको बैठकले लकडाउन ७ देखि १० दिनसम्म थप्ने निर्णय गरेको र ठ्याक्कै यति दिन भन्नेबारे जिम्मा भने मन्त्रिपरिषद्लाई दिएको हो।

मन्त्रिपरिषद्का सचिव नारायणप्रसाद बिडारीका अनुसार सरकारले अहिले जे गरिरहेको छ त्यसैलाई निरन्तरता दिइने निर्णय भएको छ। यसबारे थप निर्णय भोलि अपरान्ह बस्ने मन्त्रिपरिषद् बैठकले गर्नेछ।

कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि चैत ११ गतेदेखि सुरु भएको देशब्यापी लकडाउनको पछिल्लो म्याद वैशाख २५ गते सकिँदै छ। सचिव बिडारीले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले अहिले गरिरहेका कामहरु ठिक भएको निष्कर्ष निकालेको बताए।

बैठकले संक्रमणको जोखिम अझै नसकिएकाले लकडाउनको नीति ठीक भएको निष्कर्ष निकालेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव बिडारीले बताए।
 

प्रकाशित मिति: : 2020-05-05 19:34:19

प्रतिकृया दिनुहोस्