कर्णाली सात दिनका लागि सिल, २७ स्थानमा स्वास्थ्यकर्मीको टोली खटाइने

प्रदेश सरकारले कर्णाली ७ दिनको लागि सिल गर्ने निर्णय गरेको छ। सिमाना जोडिएका प्रदेश ५ र सुदूरपश्चिममा कोरोना संक्रमण देखिएपछि  सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले यस्तो निर्णय गरेको हो।

यो निर्णयपछि कर्णाली पूर्ण रुपमा सिल हुने सामाजिक विकासमन्त्री एवं प्रदेशस्तरीय कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय कार्यकारी समितिका संयोजक दल रावलले बताए।

बैठकले  प्रदेशका २७ स्थानमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटाइने पनि निर्णय गरेको छ। यसअघि २५ स्थानमा टोली खटाउने निर्णय गरेको भएपनि डोल्पाका दुई स्थान थप गरिएको हाे। 

‘गाउँपालिकाका केन्द्र, प्रमुख बजार क्षेत्रजस्ता रणनीतिक स्थानमा टोली परिचालन गरिनेछ,’ उनले भने, ‘आवश्यक परेको खण्डमा सोही ठाउँमा आइसोलेसन वार्ड समेत सञ्चालन गरिनेछ भने परीक्षण र उपचारलाई सँगसँगै लगिनेछ।’

उनका अनुसार स्वास्थ्यकर्मीको टोलीले सम्भावित बिरामीको पहिचान गर्नको लागि स्वाब संकलन, द्रुत परीक्षण (आरडीटी)सँगै गर्नेछ। 

सरकारले सुर्खेतको कर्णाली प्रदेश अस्पताल र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक परिचालन गर्ने जनाएको छ।

प्रतिष्ठानका चिकित्सक साविकको कर्णालीमा परिचालन हुनेछन् भने सुर्खेतका चिकित्सक अरु जिल्लामा खटाइनेछ। आवश्यकता अनुसार सम्बन्धित जिल्लाका चिकित्सक पनि तोकिएका स्थानमा जाने प्रबन्ध मिलाइएको मन्त्री रावलले थपे।

देश ४२ दिन यता लकडाउन भएपनि स्थानीय तह र प्रदेश सरकारको समन्वयमा पछिल्लो समय उद्धारका नाममा मान्छे ओसारपोसार भइरहेको थियो। प्रदेश सिल गर्ने निर्णयसँगै अब आवतजावत बन्द गरिने भएको छ। 

सुर्खेत जिल्ला प्रहरी कार्यालयका अनुसार लकडाउनयता कर्णालीमा प्रवेश गर्ने प्रमुख नाका सुर्खेतको बबईबाट १० हजार ३ सय ३२ जना व्यक्ति भित्रिएका छन्।

प्रकाशित मिति: : 2020-05-04 16:24:43

प्रतिकृया दिनुहोस्