महेश बस्नेत र सर्वेन्द्र खनालविरुद्ध दर्ता भयो सांसद अपहरणको उजुरी

बिएल संवाददाता

काठमाडाै‌ं

अपहरण तथा शरीर बन्धकसम्बन्धी कसूरमा सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ (किसान) र नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध उजुरी दर्ता भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा सोमबार दिउँसो उजुरी दर्ता भएको सहायक जिल्ला न्यायाधिवक्ता नुमराज खनालले बताए । उनीहरुमाथि जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेर काठमाडौं ल्याएको आरोप छ ।

यसअघि सरकारी वकिल कार्यालयले आफूहरूलाई केही समय अध्ययन गर्न दिन भन्दै निवेदन दर्ता गरेको थिएन। जनता समाजवादीका शीर्ष नेतासहित सांसद यादव अपहरणको किटानी जाहेरी दिन महानरीय प्रहरी परिसर काठमाडौं गए पनि प्रहरीले जाहेरी लिन मानेको थिएन।

नेकपाका सांसदद्वय बस्नेत, श्रेष्ठ र पूर्वआइजिपी खनालले महोत्तरीस्थित घरबाट आफूलाई अपहरण गरी काठमाडौं ल्याएको सांसद यादवको निवेदनमा उल्लेख छ।

अब सरकारी वकिल कार्यालयले उजुरीमाथि अध्ययन गर्नेछ र आवश्यकता अनुसार थप प्रक्रियाका लागि प्रहरीसमक्ष पठाउनेछ ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५ मा जाहेरी दर्खास्त वा सूचना प्रहरीले दर्ता नगरे सरकारी वकिलको कार्यालयमा उजुरी गर्न सकिने व्यवस्था छ । र, उजुरी प्राप्त भएपछि सम्बन्धित सरकारी वकिलको कार्यालयले त्यसको अभिलेख राखेर जाहेरी दर्खास्त वा सूचना आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाउनु पर्ने व्यवस्था छ ।

 

प्रकाशित मिति: : 2020-05-04 15:35:22

प्रतिकृया दिनुहोस्