काठमाडौं प्रवेशमा थप कडाइ, बिरामी बाहेक अन्य पासबाहकलाई निषेध

काठमाडौं उपत्यका प्रवेशमा गृहमन्त्रालयले कडाइ गर्ने भएको छ। सरकारले गरेको लकडाउनमा विभिन्न जिल्ला र स्थानीय निकायको सिफारिस लिएर काठमाडौं आउने जो कोहीलाई पनि प्रहरीले प्रवेश नदिने भएको छ।

बाहिर जिल्लाका मानिसहरु राति–राति काठमाडौं प्रवेश गर्न थालेपछि नाकाहरुमा कडाइ गर्न थालिएको गृह मन्त्रालयलले जनाएको छ।

महानगरीय प्रहरी परिसरले अब बिरामीबाहेक अरू कसैलाई पनि काठमाडौं छिर्न नपाउने गरी कडाई गर्न लागिएको जनाएको छ।

गृह स्रोतले पनि अन्य जिल्लाले काठमाडौं छिर्ने पास दिन नसक्ने उल्लेख गर्दै बिरामीबाहेक अरूलाई प्रवेशमा कडाइ गरिने  जनाएको छ।

काठमाडौं उपत्यकाबाहिरका जिल्लामा संक्रमितको संख्या बढेसँगै काठमाडौं प्रवेश गर्नेका कारण जोखिम पनि बढ्नसक्ने भन्दै नाकाहरुमा कडाइ गर्न लागिएको प्रहरीले जनाएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अहिले पनि सरदर २००० जना मानिस दैनिक काठमाडौं भित्रने र बाहिरिने गरिरहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा अहिलेसम्म ७५ जना कोरोना संक्रमित फेला परिसकेका छन् भने १६ जना निको भएर घर फर्किएका छन्।

अहिलेसम्म काठमाडौं उपत्यकामा कोरोना संक्रमण मुक्त रहेको छ। यसअघि ५ जनामा देखिएको संक्रमण निको भएसँगै उपत्यकामा कोरोना संक्रमित नभएका हुन्।

 

प्रकाशित मिति: : 2020-05-04 11:52:16

प्रतिकृया दिनुहोस्