विश्वभर कोरोना भाइरस (कोभिड १९)बाट दुई लाख ४८ हजार भन्दा बढीको ज्यान गएको छ।
जोन हप्किन्स विश्व विद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार दुई लाख ४८ हजार ९४ जनाको ज्यान गएको छ।
त्यस्तै अहिलेसम्म कोरोना संक्रमित ३५ लाख ६२ हजार दुई सय ६९ छन्। जनामध्ये ११ लाख ५३ हजार ७१ जना उपचारपछि निको भएका छन्।
युरोपमा कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित भएका मध्ये फ्रान्स, इटाली र स्पेनमा पछिल्लो समय लगातार सुधारका संकेत देखिएका छन्।
तीनै देशमा आइतबार कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या झण्डै दुई महिना यताकै कम देखिएको छ।
फ्रान्समा आइतबार १३५ तथा स्पेनमा १६४ जनाको कोभिड–१९ बाट मृत्यु भएको छ। यो गएको मार्च मध्य यताकै कम हो। यस्तै इटालीमा आइतबार १७४ जनाको मृत्यु भयो, यो संख्या पछिल्लो दुई महिना यताकै कम हो।
बेलायतमा आइतबार कोरोना भाइरसका कारण ३१५ जनाको मृत्यु भएको छ। योसँगै बेलायत कोभिड–१९ बाट धेरैको ज्यान जाने देशको सूचिमा तेस्रो नम्बरमा गएको छ।
बेलायतमा अहिलेसम्म २८ हजार ५२० जनाको कोभिड–१९ बाट ज्यान गएको छ। यस्तै इटालीमा २८ हजार ८८४, स्पेनमा २५ हजार २६४, फ्रान्समा २४ हजार ९०० तथा सबैभन्दा धेरै अमेरिकामा ६७ हजार ६७४ भन्दा बढीको ज्यान गएको छ।
यता रुसमा कोरोना भाइरस को संक्रमण पछिल्ला केही दिनयता तीव्र रुपमा बिस्तार भएको छ।
पछिल्लो २४ घण्टामा १० हजार ६३३ जना नयाँ संक्रमित थपिएका छन्। यो एकै दिन संक्रमण पुष्टि भएको अहिलेसम्मकै धेरै हो।
योसँगै रुसमा कोरोना भाइरस संक्रमितको कुल संख्या कम्तिमा एक लाख ३४ हजार ६८६ पुगेको छ।
आइतबार रुसमा ५८ जनाको मृत्यु भएको छ। हालसम्म रुसमा कुल १२ सय ८० जनाको मृत्यु भएको जनाइएको छ।