नेपालगन्जमा एकैदिन १५ जनामा देखियो कोरोना, कुल संक्रमित ७५ पुगे

आइतबार एकै दिन १६ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखा परेको छ। नेपालगन्जमा १५ जना र पर्सामा १ जनासहित आज १६ जनामा कोरोनाभाइरस (कोभिड १९) को संक्रमण देखिएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार सुरूमा ९ जना व्यक्तिमा संक्रमण पुष्टि भएको थियो। पछि थप ६ जनामा संक्रमण देखिएको हो।

यो सँगै नेपालमा संक्रमितको संख्या ७५ पुगेको छ।

नेपालगन्जमा देखिएका संक्रमितमध्ये ९ जना पुरूष र ६ जना महिला छन्। यसअघि नेपालगञ्ज उपमहानगर वडा नम्बर ८ का एक ६० वर्षीय पुरूषमा कोरोनाभाइरस पोजेटिभ देखिएको थियो।

यससँगै बाँकेमा कोरोना भारइरस संक्रमणको उच्च जोखिमयुक्त क्षेत्रको रुपमा नेपालगञ्ज देखिएको छ।  शनिबार ९० जनाको स्वाब संकलन गरिएकोमा आइतबार ठूलो संख्यामा संक्रमण पुष्टि भएको हो। अझै केहीको रिपोर्ट आउन बाँकि रहेको छ।

पहिलो पटक कोरोना संक्रमण भेटिएका ६० वर्षीय पुरुष नेपालगञ्जको डियसपी टोलका हुन्।  उनी शिक्षक भएको समेत खुलेको छ। जिल्ला स्वास्थ्य कार्यालय बाँकेले कोरोना संक्रमितलाई थप उपचारका लागि खजुरास्थित शुशील कोइराला क्यान्सर अस्पताल लगिएको छ। बाँकेमा बन्दाबन्दी थप कडाई गर्ने बाँके प्रशासनले जनाएको छ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका  अनुसार अहिले भेटिएका नयाँ सङ्क्रमित पनि नेपालगञ्ज–८ स्थित जोल्हनपूर्वा आसपासकै भएको अनुमान छ। यससँगै नेपालगञ्जमा एकै दिन कोरोना पोजेटिभको सङ्ख्या १५ पुगेको छ । यसअघि एक जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

संसर्गबाट कोरोना सङ्क्रमण

नेपालगञ्जमा आज फेला परेका नयाँ कोरोना सङ्क्रमित पहिले फेला परेका व्यक्तिको संसर्गबाट सङ्क्रमित भएको पाइएको छ । नयाँ सङ्क्रमित सबै पहिलो पटक सङ्क्रमण देखिएका नेपालगञ्ज–८ डिएसपी रोडका ६० वर्षीयको सम्पर्कमा आएका जोल्हनपूर्वास्थित मदरसा वरिपरिका बासिन्दा भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए।

पहिलो सङ्क्रमित व्यक्तिले जोल्हनपूर्वामा रहेको मदरसामा बालबालिकालाई पढाउने क्रममा सम्पर्क भएको हुनसक्ने अनुमान छ । फेला परेका सङ्क्रमित सातदेखि ५८ वर्ष उमेरका छन्। उनीहरू कसैमा पनि कोरोनाको लक्षण नदेखिए पनि कोरोना सङ्क्रमण भएको थियो।

 फोकल पर्सन श्रेष्ठका अनुसार पहिलो सङ्क्रमितको सम्पर्कमा आएका ९० जनाको शनिबार स्वाब सङ्कलन गरिएकामा ३० को नमूना परीक्षण गर्दा १५  जनामा कोरोना पोजेटिभ देखिएको हो । उनीहरुलाई उपचारका लागि खजुरास्थित आइसोलेशन अस्पतालमा पठाइएको छ । नब्बेमध्ये अझै ५४ जनाको रिपोर्ट आउन बाँकी रहेकाले सङ्क्रमितको सङ्ख्या थप हुन सक्ने बताइएको छ ।

कोरोनाको कुनै पनि लक्षण नभएका व्यक्तिमा कोरोना पोजेटिभ देखिएकाले थप सतर्कता अपनाउनुपर्ने अवस्था आएको भेरी अस्पताल नेपालगञ्जका प्रमुख डा प्रकाश थापाले बताए। उनले कोरोना भाइरस जोसुकैमा पनि सङ्क्रमण हुने भएकाले घरबाट बाहिर निस्कन नहुनेमा जोड दिए।

नेपालगञ्जस्थित मस्जिद तथा मन्दिरमा केही दिनअघि धर्मगुरुहरुको  स्वाब परीक्षणका क्रममा पहिलो पटक नेपालगञ्जका ६० वर्षीय व्यक्तिमा शुक्रबार कोरोना सङ्क्रमण फेला परेको थियो ।

प्रकाशित मिति: : 2020-05-03 20:05:21

प्रतिकृया दिनुहोस्