किम जोङ उनलाई ‘जीवितै’ देख्न पाउँदा ट्रम्प प्रशन्न

बिएल संवाददाता

काठमाडाै‌ं

उत्तर कोरियाका नेता किम जोङ उन सार्वजनिक हुँदा आफू ‘प्रशन्न’ भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।

उत्तर कोरियाका नेता किम २० दिनपछि शनिबार सार्वजनिक कार्यक्रममा देखिएका थिए। उनी प्योङ्याङको उत्तरमा रहेको उद्योग उद्घाटनमा सहभागी भएका हुन्। उनीसँगै बहिनी किम यो जोङ र शीर्ष नेताहरुको सहभागिता थियो।

लुप्त रहँदा उनी गम्भीर बिरामी परेको वा निधन नै भएको हुन सक्ने भन्दै विभिन्न खबर आएका थिए। तर ती सबै खबरलाई झुट साबित गर्दै नेता किम शनिबार सार्वजनिक भएका थिए।

ट्रम्पले ट्वीटमा लेखेका छन्, ‘उनी आएको देख्दा म प्रशन्न छु र स्वस्थ रहेको थाहा पाउँदा पनि।’

नेता किम अप्रिल १२ यता पहिलोपटक सार्वजनिक कार्यक्रममा उपस्थित भएको ठानिएको छ। 

अप्रिल १५ मा हजुरबुवा (उत्तर कोरियाका संस्थापक) किम इल–सुङ्गको जन्मजयन्तीको विशेष समारोहमा उनी उपस्थित नभएपछि विभिन्न अड्कल भइरहेका थिए। नेता किम अप्रिल ११ मा वर्कर्स पार्टीको पोलिट्ब्युरो बैठकमा सहभागी भएपछि सार्वजनिक रुपमा देखिएका थिएनन्।

त्यसयता किमको स्वास्थ्य अवस्थालाई लिएर पुष्टि नभएका विभिन्न खबर आइरहेकै छन्। कतिले उनी गम्भीर बिरामी परेको वा निधन नै भएको हुन सक्नेसम्म दाबी गरेका छन्।

दक्षिण कोरियाको सिओलबाट सञ्चालन हुने डेली एनके अनलाइनले नेता किमको अप्रिल १२ मा मुटुको शल्यक्रिया भएको र त्यसपछि उनको स्वास्थ्य अवस्था गम्भीर रहेको तर सुधार हुँदै गएको उल्लेख गरेको थियो। सो अनलाइनले उत्तर कोरियाको गोप्य स्रोतलाई उद्धृत गर्दै खबर लेखेको थियो।

तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको सोमबार किमको अवस्थाबारे आफूलाई स्पष्ट जानकारी रहेको तर त्यसबारे नबताउने भनेका थिए। ट्रम्पले उनका लागि कामना भने गर्ने बताएका थिए।

यता फक्स न्यूजसँगको अन्तर्वार्तामा अमेरिकी विदेश मन्त्री पोम्पेओले बुधबार उत्तर कोरियाका नेता किमबारे भनेका थिए, ‘हामीले उनलाई देखेका छैनौँ, आजको दिनसम्म उनीबारे हामीसँग कुनै जानकारी छैन। हामीले नजिकबाट नियालिरहेका छौँ।’

पिता किम जोन इलको सन् २०११ म हृदयघातबाट मृत्यु भएपछि नेता किम उत्तर कोरियाको सत्तामा छन्। उनी किम परिवारका तेस्रो पुस्ताका शासक हुन्।

याे पनि

किम जोङ उन ‘जीवितै,’ २० दिनपछि भए सार्वजनिक

उत्तर कोरियाली शासक किम 'जिवीत' रहेको दक्षिण कोरियाली दावी

उत्तर कोरियाली नेता किम थला परेका छैनन्: दक्षिण कोरिया

किम गम्भीर बिरामी परेको खबर पत्यार लागेन: राष्ट्रपति ट्रम्प

अमेरिकी विदेशमन्त्रीकाे आँकलन: उत्तर कोरिया कोरोना महामारी वा भोकमरीबाट अति समस्याग्रस्त छ

प्रकाशित मिति: : 2020-05-03 08:03:24

प्रतिकृया दिनुहोस्