१० दिनदेखि हिउँमा फसेका सुरजको हेलिकप्टरबाट उद्धार

चौध दिनदेखि हराइरहेका सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका–४ का सुरज लामालाई आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ । रसुवा नुवाकोट र सिन्धुपाल्चोक सीमा क्षेत्र सूर्यकुण्ड फेदीबाट उद्धार गरी उनलाई काठमाडौं लगिएको छ । 

लकडाउनका कारण पैदल हिँडेर घर आउँदै गरेका उनी ७ वैशाखमा रसुवास्थित सूर्यकुण्ड भन्ने स्थानमा हिउँमा फसेका थिए । १० दिनसम्म हिउँमा फसेका उनी ११ औँ दिनमा हिउँबाट निस्किन सफल भएर सूर्यकुण्ड फेदीस्थित गोठमा बसेका थिए ।
      
उनी रसुवागढी जलविद्युत् आयोजना निर्माण गरिरहेको चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशनमा कार्यरत थिए । वैशाख ६ गते मेलम्ची हुँदै घर हिँडेका उनी गोसाइँकुण्डको तारेभिरमा फसेका थिए ।

वैशाख ६ गतेदेखि सम्पर्कविहीन भएका सिन्धुपाल्चोकका सुरज लामा ११ दिनपछि बुधबार सम्पर्कमा आएका थिए । सुरजले आफू ८ गतेदेखि हिउँमा फसेकाले हिँड्न नसक्ने भएको बताएका थिए ।

उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ । 

 

प्रकाशित मिति: : 2020-05-01 15:27:27

प्रतिकृया दिनुहोस्