महोत्तरीको भंगहामा थप दुईजनाको रहस्यमय मृत्यु

मंगलबार र बुधबार गरी चार जनाको रहस्यमय मृत्यु भएको महोत्तरीको भंगहा नगरपालिकामा थप दुई जनाको मृत्यु भएको छ ।

मंगलबार र बुधबार एकपछि अर्को गरी चार जनाको रहस्यमय मृत्यु भइसकेको वडा नं ७ मेघनाथ गोरहन्नामा आज पुनः स्थानीय ४२ वर्षीय सिकेन्द्र सिंह र ५५ वर्षीय सिताई महाराको मृत्यु भएको नगर प्रमुख संजिवकुमार साहले बताए ।

मङ्गलबार र बुधबार स्थानीय ४० वर्षीय मोहन चौधरी, ५२ वर्षीय नथुनी चमार, ५४ वर्षीय लालबाबु सिंह र ५२ वर्षीय गङ्गारामको मृत्यु भएकामा आज थप दुई जना गरी मृतकको सङ्ख्या ६ पुगेको प्रमुख साहले पुष्टि गरे ।

रहस्यमय तरिकाले ६ जनाको मृत्यु भइसकेको त्यस गाउँमा उनीहरुको मृत्यु विषाक्त रक्सी सेवनबाट भएको हुनसक्ने वडाध्यक्ष वासुदेव सिंह थारुलगायत स्थानीय बासिन्दाले अडकलबाजी गरिरहेका छन् ।

प्रहरीले तीन दिनमा सो गाउँबाट ठूलो सङ्ख्यामा रक्सी र रक्सी बनाउनका लागि भण्डारण गरी राखिएको कच्चा पदार्थ नियन्त्रणमा लिए पनि उनीहरुको मृत्यु रक्सी सेवनबाट भएको कुरा स्वीकार गरिरहेको छैन ।

सिकिस्त दुई जनाको स्वास्थ्य जाँच तथा मृतकको शव परीक्षणपछि मात्रै सही कारण बाहिर आउने प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: : 2020-05-01 08:00:06

प्रतिकृया दिनुहोस्