नेपाली फेसन डिजाइनर प्रवल गुरूङले अस्पताललाई दिए दुई हजार मास्क

बिएल संवाददाता

न्युयोर्क- अमेरिका
न्युयोर्कको कुइन्सस्थित एल्मर्हस्ट अस्पताललाई फेसमास्क बितरण गर्दै प्रवल गुरूङ ।

विश्वविख्यात नेपाली फेसन डिजाइनर प्रवल गुरूङले न्युयोर्कको तीन अस्पताललाई दुई हजार मास्क सहयोग गरेका छन्। न्युयोर्कमै बसोबास गर्दै आएका उनले कोरोनाको इपिसेन्टरमा अवस्थित एल्मर्हस्ट अस्पताल,  मेट्रो अस्पताल र ब्रुकलिन अस्पताललाई सहयोग गरेका हुन्।

उनले न्युयोर्कमै स्थापित द कोभिड फाउन्डेसनसँग सहकार्य गर्दै तत्कालका लागि उनकै भाषामा यो सानो सुरूवाती सहयोग गरेका हुन्। उनले भनेका छन्,' निकट भविष्यमै थप सहयोग गर्ने छु।' 

न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले न्युयोर्कका फेसन डिजाइनरहरूलाई यो महामारीविरूद्ध जुध्न मास्क बनाउन आग्रह गरेसँगै प्रवलका धेरै साथीहरू त्यतातिर लागेका छन्। उनी पनि त्यस दिशामा काम गर्न चाहन्छन् । तर, उनलाई त्यो काम सहज र व्यवहारिक लागेन। त्यसैले उनले सीडीसीले मान्यता दिएका मास्क नै तत्कालका लागि खरिद गरेर सहयोग गर्न उपयुक्त ठानें।

'म भावनाले नेपाली हुँ, मेरो रगतमै दया, माया र सहानुभूति छ। परेको बेला सहयोग गर्नुपर्छ भन्ने हाम्रो संस्कार पनि हो। त्यसैले पनि सहयोगका लागि अगाडि आएको हुँ।'
- प्रवल गुरूङ, फेसन डिजाइनर 

प्रवलले भने, 'म भावनाले नेपाली हुँ, मेरो रगतमै दया, माया र सहानुभूति छ। परेको बेला सहयोग गर्नुपर्छ भन्ने हाम्रो संस्कार पनि हो। त्यसैले पनि सहयोगका लागि अगाडि आएको हुँ।'

आफू महामारीको इपिसेन्टरमा भएकाले त्यसको मानसिक असर स्वभावत: पर्दोरहेछ भन्दै उनले भने, 'अब बिस्तारै परिस्थिति पनि सम्हालिदैछ र आफू पनि सम्हालिनुको विकल्प छैन।'

कोरोनाको प्रभाव लामो समयसम्म रहने बताउँदै उनले सहयोगका लागि अल अमेरिकन्स  नामक कलेक्सन डिजाइन गरेको बताए। यसको सबै नाफा कोरोना प्रभावित अल्पसंख्यक अमेरिकी नागरिकलाई सहयोग गरिने पनि उनले बताए। 

प्रकाशित मिति: : 2020-05-01 03:36:19

प्रतिकृया दिनुहोस्