बारामा कोरोना सङ्क्रमण देखिएपछि जोखिम क्षेत्र शिलबन्दी

बारामा २ जना ब्यक्तिमाथि कोरोना संक्रमण देखिएसँगै उनीहरू बस्दै आएको क्षेत्रलाई जोखिम क्षेत्र घोषणा गरेर पूर्ण रूपमा शिल गरिएको छ।

जीतपुर बजारदेखि पूर्व आमाडार तथा इनर्वासिरा जोखिममा रहेको भन्दै सो क्षेत्र शिल गरीएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।

बाराका प्रमुख जिल्ला अधिकारी रूद्र प्रसाद पण्डितका अनुसार कोरोनाको संक्रमण अन्यमा फैलिन नदिन जितपुर सिमराको वडा नं ७ र वडा नं. १९ को इनर्वामा सुरक्षाकर्मी परिचालन गरी शिल गरिएको छ।

वडा नं ७ का संक्रमितको सम्पर्कमा आएका परिवारजन र इनर्वाका मौलानाको सेवामा रहेका एक व्यक्तिलाई पनि क्वारेन्टाईनमा पठाइएको प्रजिअ पण्डितले बिएल नेपाली सेवालाई जानकारी दिए।

‘शिल गरिएको इलाकाबाट कुनै पनि ब्यक्ति बाहिर निस्कने र अन्यत्रबाट प्रवेश गर्न पाउनेछैनन्। यदि गैर कानुनी रूपमा प्रवेश गरे कानून अनुसार कारबाही गरिने छ’, उनले भने, ‘करीब ६२ किलोमिटर दूरीमा फैलिएको बारा जिल्लाका खुल्ला सीमानामा कडा सुरक्षाको व्यवस्था गरिएको छ। साथै राहत वितरणको समयमा पनि कडा व्यवस्था गरिएको छ।’  

प्रहरी नायब उपरीक्षक गोविन्द पुरीका अनुसार बारामा भेटिएका दुवै संक्रमितका सम्पर्कमा आएकाको ट्राभल हिस्ट्री र कन्ट्याक्ट ट्रेसिङ्गको आधारमा खोजी शुरु भइसकेको छ।

बिहिबार सुरक्षा समितिको बैठक बसि उनीहरूको सम्पर्कमा आएकाको खोजी गरी र्‍यापिड डायग्नोष्टिक टेष्ट आरडिटी र स्वाब परीक्षण गरिने पुरीले जानकारी गराए।

प्रकाशित मिति: : 2020-04-30 09:25:00

प्रतिकृया दिनुहोस्