बालुवाटारमा नेकपा सचिवालय बैठक सुरू

बिएल संवाददाता

काठमाडाै‌ं

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरू भएको छ।

बुधबार साँझ बालुवाटारमा बैठक सुरू भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

यसअघि  वरिष्ठ नेता माधव नेपाल निकटका नेताहरूसँग भएको भेटमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली निकट नेताहरूले मंगलबार सचिवालय बैठक बस्ने जानकारी दिएका थिए। तर बैठक बस्नेबारे कुनै तयारी नभएपछि आज सारिएको हो। 

प्रधानमन्त्री ओलीले राजनीतिक दल विभाजनसम्बन्धी खुकुलो प्रावधानसहित अध्यादेश ल्याएपछि अर्का अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता नेपाल समूह आक्रोशित बनेको छ। 

अध्यक्ष ओलीले आफू अनुकूल नहुँदासम्म मंगलबार बोलाइएको सचिवालय बैठक रोकिएको प्रचण्ड निकट स्रोतले आरोप लगाएको छ। तर ओली निकट स्रोतले भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच केही कुरा बाँकी रहेकाले आजका लागि सारिएको जानकारी दिएको छ।

बुधबार दिउँसो सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला ओली र प्रचण्ड-नेपाल समूह ले आफ्नो पक्षमा बहुमत देखाउन सांसदको हस्ताक्षर अभियान चलाएका छन्।

यता प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले आफूनिकटका सांसदहरूको हस्ताक्षर अभियान चलाइसकेका छन्।


 

प्रकाशित मिति: : 2020-04-29 18:16:49

प्रतिकृया दिनुहोस्