भारतले चीनबाट ल्याउने भनिएको करिब पाँच लाख र्यापिड परीक्षण किट्सको अर्डर रद्द गर्ने निर्णय गरेको छ।
र्यापिड परीक्षण किट्सले रगतमा एन्टिबडी भएको वा नभएको पत्ता लगाउँछ। यसले कोराना संक्रमित पहिचान गर्न सजिलो हुन्छ। यसले केवल ३० मिनेटमा नतिजा दिन्छ। जसको माध्यमबाट सम्भावित संक्रमित भेट्न सजिलो हुन्छ।
यद्यपि र्यापिड परीक्षण किट्सले कोरोना भाइरसको परीक्षण भने गर्न सक्दैन। तर अनुगमनको क्रममा उक्त किट्स त्रुटिपूर्ण रहेको पाइएसँगै भारतले अर्डर रोक्ने निर्णय गरेको हो। साथै भारतले अहिले प्रयोग भइरहेका किट्सहरु पनि फिर्ता गर्ने निर्णय गरेको छ।
धेरै वैज्ञानिकहरुले कोरोना पत्ता लगाउने गरिएको यो परीक्षणको प्रयोजनप्रति प्रश्न उठाएका छन्।
चीनले भने भारतको दाबीलाई अस्वीकार गरेको छ। चीनले भारत पठाइएको किट्सको गुणस्तरमा कुनै समस्या नभएको जिकिर गरेको छ। भारतले पूर्वाग्रह राखेर आफ्नो किट्सलाई त्रुटिपूर्ण भनेको भन्दै चीनले आफ्नो बचाउ गरेको छ।
भारतमा कोरोनाको परीक्षण निकै कम भइरहेको गुनासो आएपछि भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर)ले र्यापिड परीक्षण किट्सबाट परीक्षणको लागि अनुमति दिएको थियो।
शुरुमा आईसीएमआर यो किट्सप्रति अनिच्छुक देखिएको थियो तर अन्त्यमा दुई चिनियाँ कम्पनीबाट यी किट्सहरु ल्याउन अनुमति दिएको थियो।
यद्यपि त्यसको केही समयमा नै भारतको केही राज्यमा यसले केवल पाँच प्रतिशत सही नतिजा दिने गरेको गुनासो आएको थियो। पुष्टि भइसकेका कोरोनाका बिरामीमा पनि यसले नेगेटिभ देखाएपछि यसबारे बहस शुरु भएको थियो।
त्यसपछि आईसीएमआरले गरेको अनुगमनमा उक्त किट्स गुणस्तरीय नरहेको पाइएको थियो।
सोमबार दिल्ली अदालतले भारतले किट्स खरिदको लागि वास्तविकभन्दा महँगो मूल्य तिरेको बताएको थियो। यद्यपि भारतीय अधिकारीले भने अहिले गरिएको अर्डरको पैसा भुक्तान नगरिएको र अर्डर रद्द गरिएकाले नोक्सानी नहुने बताएका छन्।