गृह मन्त्रालयले कोरोना भाइरसको संक्रमण फैलिन नदिन लगाएको लकडाउनमा कडाइ गर्न सुरक्षा निकाय र स्थानीय प्रशासनलाई परिपत्र गरेको छ ।
लकडाउन खुकुलो भएको गुनासो बढेपछि गृह मन्त्रालयले सोमबार सुरक्षा निकाय र ७७ वटै जिल्लाका प्रशासन कार्यालयलाई परिपत्र गर्दै पासविनाका सवारी आवतजावतमा पूर्ण रुपमा रोक लगाउन निर्देशन दिएको छ । साथै सडकमा सवारी साधनको चाप पनि बढेको छ।
पछिल्लो समय स्थानीय तहहरुले काठमाडौं उपत्यकाबाट ठूलो संख्यामा यात्रुहरु गाउँमा लगेका छन् ।आज बिहान मात्रै विराटनगर महानगरपालिकाले अलपत्र परेकाहरु भन्दै ७ वटा गाडीमा १६० जनालाई काठमाडौं उपत्यकामा पठाएको थियो।
‘अत्यावश्क सेवाका लागि पास चाहिँदैन । अरुको हकमा विना पासका सवारी चलाउन नदिनू भनेर हामीले यसअघि नै परिपत्र गरेको हौं,’ गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भने।
गृहको परिपत्रलगत्तै प्रहरीले लकडाउन उल्लंघन गर्नेहरुलाई कारबाही थालेको छ ।