इटालीले लकडाउन खुकुलो पार्दै, एक प्रदेशबाट अर्को प्रदेशमा जान नपाइने

कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढी प्रभावित हुने मध्ये एक देश इटालीले लकडाउन खुकुलो पार्ने भएको छ। पछिल्ला केही दिनयता मृत्यु हुने तथा संक्रमितको संख्या लगातार कम हुँदै गएपछि इटालीले लकडाउन खुकुलो पार्ने याेजना अगाडि सारेकाे हाे।

प्रधानमन्त्री जुसेपे कोन्तेले टेलिभिजन मार्फत सम्बोधन गरि लकडाउन अन्त्य गर्ने योजनाका चरणहरु सार्वजनिक गरेका छन्। इटालीमा विगत सात हप्तादेखि लकडाउन जारी छ।

कोन्तेले लकडाउन मे ४ अर्थात आउँदो हप्तादेखि केही खुकुलो पारिने जानकारी दिएका छन्। मे ४ देखि सानो संख्यामा रहेर मानिसहरुलाई आफन्तसँग भेटघाट गर्न दिइने तर मास्क भने अनिवार्य रुपमा लगाउनु पर्ने प्रधानमन्त्री कोन्तेले बताएका छन्।

पार्कहरु पनि खुला हुने भएका छन्, तर स्कूलहरु भने नियमित जस्तो गरी सेप्टेम्बरसम्म खुल्ने छैनन्। उनले सामाजिक तथा भौतिक दूरीका उपायहरु अपनाइरहनु पर्नेमा जोड दिएका छन्। उनले कम्तिमा तीन फिटको दूरी कायम गर्न आग्रह गरेका छन्। 

 इटालीमा अहिलेसम्म कोरोना भाइरसका कारण २६ हजार ६४४ जनाको ज्यान गएको छ, यो युरोपका देशमा सबैभन्दा बढी हो र विश्वमा सबैभन्दा धेरैको ज्यान जाने देशको सूचिमा इटाली दोस्रो स्थानमा छ। अमेरिकामा सबैभन्दा धेरै ५४ हजार ८४१ जनाको ज्यान गएको छ।

इटालीमा आइतबार २६० जनाको कोराेनाबाट निधन भएकाे छ। गएको मार्च १४ यता एकै दिन सबैभन्दा थोरै व्यक्तिको निधन भएको हो यो। इटालीमा संक्रमितको संख्या एक लाख ९७ हजार ६७५ रहेको छ। संक्रमण कम हुँदै गएको र संक्रमण दर पनि अब लकडाउन खुकुलो पार्न मिल्ने तहमा आएको इटालीका अधिकारीले बताएका छन्।

तर एक क्षेत्रबाट अर्को क्षेत्र वा प्रदेशमा भने जान दिइने छैन। अन्तिम संस्कारहरुका लागि स्वीकृति दिइने भएको र अधिकतम १५ जना मात्रै सहभागी हुन पाउने छन्।

यस्तै मे ४ देखि बार तथा रेस्टुरेन्टहरु टेकअवे सेवाका लागि खुला हुने छन्। कपाल तथा नङका सैलुन, ब्यूटिपार्लर, बार तथा रेस्टुरेन्ट पूर्ण क्षमतामा जुन १ देखि सञ्चालनमा आउने अपेक्षा गरिएको छ।
 

प्रकाशित मिति: : 2020-04-27 07:22:03

प्रतिकृया दिनुहोस्