पाशुपत क्षेत्रमा पुग्दा देखिने एउटा दृश्यले जो कोहीलाई मानव जगतको अर्थ बुझ्न कर लाग्छ। मन्दिरका पुजारीदेखि भक्तमा लोभ,स्वार्थ र इर्श्या लुकेको घाेर कलिकाे याे युगमा एक ब्यापारी सधै गहुँकाे बाेरा बाेकेर एकाबिहान पशुपतिनाथ मन्दिरकाे गेटमा आएकाे देखेर सबैलाई अचम्म लाग्न सक्छ।
उनी सबैरे मन्दिरकाे पूर्वी गेटमा आउँदा सशस्त्र र नेपाल प्रहरीका जवानहरु चाबी बाेकेर गेट खाेल्न पुग्ने गर्छन्। उनकाे याे नित्य कर्म हाे। लकडाउनकाे अहिलेकाे अवस्थामा पनि उनी गहुँकाे बाेरा सकिनसकी दिनहुँ ल्याई नै रहेका छन्। निधारमा राताे टिका लगाएर एकाबिहान गहुँकाे बाेरा बाेकेर पशुपति आउने ती ब्यापारी काे हाेलान? यस्ताेमा काैतुहलता उत्पन्न हुनु जायज पनि हाे।
ती ब्यापारी हुन्, विनय शाह। पशुपति क्षेत्रमा कार्यरत मानिसहरुका लागि उनकाे परिचय नाैलाे हाेइन। तर आम मानिसका लागि भने नाैलाे दृश्य नै हाे। उनी मन्दिरका पुजारी, कर्मचारी वा सुरक्षाकर्मीका लागि गहुँकाे त्याे बाेरा बाेकेर आएका हाेइनन्। न पशुपतिनाथलाई नै दान गर्न गहुँकाे बाेरा बाेकेर आएका हुन्।
उनी त पशुपतिनाथमा रहेका परेवाहरुलाई आहारा जुटाउन गहुँकाे बाेरा बाेकेर आएका हुन्। भन्छन्, ‘हामी सधै बिहान सात बाेरा गहुँ बाेकेर आउँछाै।’ उनी आउने वित्तिकै चारैतिर छरिएर रहेका हजाराैं परेवा पनि आहारा दिने ठाउँमा आइपुग्ने गरेका छन्। २०–२५ मिनेटमा ७ बाेरा गहुँ सकिन्छ। उनी बाँदरका लागि ल्याएकाे १० क्रेड केरा पनि बाँडेर फर्किन्छन्।
विनय काठमाडाैमा फलफूलकाे व्यापारी हुन्। वास्तवमा याे उनले व्यवस्थापनकाे काम मात्र गरेका हुन्। पशुपतिमा परेवा र बाँदरका लागि दैनिकी आहार जुटाउने दानबीर एक भारतीय नागरिक हुन्। केही वर्षअघि भारतकाे राजस्थानका एक ग्यास व्यापारी पशुपतिनाथकाे दर्शन गर्न आएका थिए।
उनले मन्दिर घुम्ने क्रममा भक्तजनले परेवा र बाँदरहरुलाई गहुँकाे केही दाना र केरा दिएकाे देखेपछि यसबाट निकै प्रभावित भएका थिए। यसपछि उनले पशुपतिनाथमा रहेका हजाराै परेवा र सयाै बादरलाई नियमित आहारा ख्वाउने व्यवस्था मिलाए।
‘उहाँ काठमाडाैं आउँदा मसँग भेट भयाे। सायद उहाँ परेवाकाे विषयमा धेरै जानकार हुनुहुन्थ्याे हाेला। मलाई पंक्षीमा सबैभन्दा बढि खाना परेवालाई चाहिन्छ भन्नु हुन्थ्याे। जति उड्छ, त्यति नै चाहिन्छ भन्नु हुन्थ्याे। मलाई ७ बाेराे गहुँ र १० क्रेड केरा भाेलेशंकरकाे नाममा चढाइदिनु भन्नु भयाे। त्यही दिनदेखि चढाइरहेकाे छु,’ उनले भने।
पशुपतिमा यसरी परेवा र बाँदरलाई आहाराकाे व्यवस्था गरिदिने व्यापारी उत्तै राजस्थानमा बस्छन्। तर उनले एक महिना अगाडि नै खर्च पठाउने गरेकाे शाह बताउँछन्। उनले ती व्यापारीकाे नाम भने उल्लेख गर्न चाहेनन्। नेपालमा हिजाेआज २ किलाे चामल बाँड्दा फाेटाे खिचेर मिडियामा छपाउने प्रवृत्ति रहेकाे अवस्थामा उनी मिथ पनि लाग्न सक्छन्।
शाह भन्छन्, ‘पुण्य पनि हल्ला गरेर गर्ने कुरा हाे र? त्यसैले उहाँले कसैलाई नभन्नु भन्नु भएकाे छ।’ ती भारतीय व्यापारी वर्षमा एक पटक स–परिवार पशुपतिनाथकाे दर्शन गर्न आउँछन्। उनी पशुपंक्षीकाे सेवालाई सबैभन्दा ठूलाे धर्म मान्छन्। दान देखाएर हैन, लुकाएर दिने कुरा हाे भन्नेमा उनी निश्चिन्त छन्। ‘पशुपतिनाथकाे दर्शन गर्न आएकाे बेला आफू जे भए, त्याे भाेलेबाबाकाे देन भएकाे बताउनु हुन्छ,’ शाहले भने।