लकडाउन : जनजीवन कष्टकर बन्दै

भुल्के गाउँमा दैनिक उपभोग्य वस्तुको अभाव हुँदा स्थानीयवासीको जनजीवन कष्टकर बन्न पुगेको छ। 

त्रियुगा नगरपालिका–३ को सो गाउँलाई स्थानीय  प्रशासनले कोभिड–१९ को थप जोखिम हुन नदिन दुई हप्तादेखि सिल गरेपछि खाद्यान्न अभाव  हुन पुगेको स्थानीय यदुप्रसाद ढकालले जानकारी दिए।

'गाउँमा खाने तेल, नुन, चामल, ग्यासदेखि लिएर साबुनलगायतका वस्तुसमेत अभाव भएको र अन्यत्र किन्न जान नपाइने भएपछि अहिले ज्यादै कष्टकर जीवन बिताउनुपरेको छ' उनले भने, 'गरिब मजदुरले राहत पाएको सबै कुरा खाइसके। अब खानेकुरा छैन।'

स्थानीय कुमार भट्टराई अहिले आफूहरुले कष्टकर जीवन भोग्न परेकोकोे दुःखेको व्यक्त गर्छन्। 'बाहिर कतै चामल तेल, नुन साबुन किन्न जान पाइँदैन। गाउँको पसलमा केही पनि छैन। बस्तुहरुलाई खुवाउने घाँस पनि छैन' उनले भने।

आफूहरु घरभित्र भोकभोकै सुत्नुपर्ने अवस्था आएको स्थानीय गीता थापाको भनाइ छ। 'खेतबारीमा मकै गोड्ने बेला भयो' उनले भनिन्, 'ती मकै नै पनि उखेलेर वस्तुलाई खुवाउन पाएका छैनौँ।' गाउँको धान कुट्ने मिल चल्न दिने वातावरण बनाएदिन स्थानीयवासी सीता थापाको माग छ। 

दैनिक उपभोग्य वस्तुको व्यवस्था मिलाउन स्थानीय र प्रदेश सरकारलाई सहयोग गर्न तयार रहेको सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए। 'त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीसँग भुल्केमा खाद्यान्न अभाव हुन नदिन राहतका योजना अगाडि बढेको छ' उनले भने।
 

प्रकाशित मिति: : 2020-04-25 13:11:17

प्रतिकृया दिनुहोस्