अनगिन्ती प्रश्न

‘दिदी हाम्रो बाबुको पनि डिभोर्स हुने भयो नि, तपाईँ मान्नुहुन्छ भने रिस्ताको विवाह विप्लवसँग गराईदिने हो कि?,’ पल्लो कोठामा बसेर सुस्मिता आन्टीले ममीसँग गरेको कुरा मेरो आफ्नै कानले प्रस्टसँग सुन्यो।

ममीको प्रतिक्रिया सुन्न बसिरहेकी थिएँ। ‘ममीले खुसी हुँदै जवाफ दिनुभयो, ‘भईहाल्छ नि तिम्रो परिवारसँग सम्बन्ध गाँस्न पाए हामीलाई अरू के चाहियो र?’ सुस्मिता आन्टी ममीको असाध्यै मिल्ने साथी। बेलाबेलामा उहाँ हाम्रो घर आइरहनुहुन्छ। तर मलाई अहिलेसम्म उहाँको परिवारको बारेमा केही पनि थाहा छैन। उहाँहरूको कुराले यो चाहीँ थाहा भयो कि, उहाँको छोरा छ। जसको डिभोर्स हुँदैछ।

यो सम्बन्ध भन्ने कुरा पनि कति सस्तो भयो आजकल। चित्त बुझेन कि डिभोर्स। हुन त आजकलको जमानामा कोही कसैको दबाबमा बस्नै चाहँदैनन्। सायद त्यसैले पनि होला डिभोर्स गर्नेको संख्या बढिरहेको छ। मैले कहिल्यै नदेखेको विप्लवको चाहीँ डिभोर्स किन हुन लागेको होला कुन्नी? आजकल कुनै कारण बिना पनि डिभोर्स भईदिन्छ। मेरो कुरा बेग्लै थियो। सहनै नसक्ने यातना पाएरै मैले विश्वाससँग डिभोर्स गरेकी हुँ।

***

ब्याच्लर पढ्न अस्ट्रेलियाको सिड्नी जाँदा एउटै प्लेनमा परेर विश्वास र मेरो चिनजान भएको थियो। प्लेनमा नेपाली भएको कारण सामान्य चिनजान भएको विश्वाससँग संयोगबस् मैले काम गर्ने ठाउँमै भेट भयो। गोरो वर्ण र अग्लो कद भएको विश्वासको बोलीमा थाहा छैन के थियो म त्यसै मन्त्रमुग्ध हुन्थेँ। ऊ पनि काममा अरूसँग भन्दा बढी मसँग मिल्थ्यो। एकदिन विश्वासले काम सकेर घर जाने बेलामा आफैंले मलाई मनपराएको कुरा बतायो। म त यसै पनि ऊ भने पछि हुरुक्कै हुन्थेँ। उसको त्यो प्रेम प्रस्तावसँग मलाई के समस्या हुन्थ्यो र!

विश्वासले मलाई त्यसपछि धेरैपटक कोर्ट म्यारिज गरेर सँगै बसौं भनेर अनुरोध गरिरहन्थ्यो। तर मलाई त्यसरी बस्ने कुनै ईच्छा थिएन। मैले घरमा विश्वासको बारेमा सबैकुरा भनिसकेपछि ममी र बुवालाई हाम्रो सम्बन्धसँग कुनै समस्या थिएन। न त विश्वासको परिवारलाई नै कुनै समस्या  थियो। विश्वास र मेरो विचार मिल्थ्यो, कुरा मिल्थ्यो अनि सबैभन्दा ठूलो कुरा त ऊसँग मेरो मन मिल्थ्यो।

पढाईपछि हामी दुबैको योजना नेपाल फर्केर विवाह गर्ने थियो। हामीले नेपालमै केही गर्ने उदेश्यले दुबैजना लगभग ५ वर्षपछि अस्ट्रेलियाबाट सधैंको लागि नेपाल फर्कियौं।

नेपाल फर्केको एक वर्ष भित्रै विश्वास र मेरो विवाह भयो। दुई महिनासम्म सुमधुर चलेको सम्बन्ध दुई महिनापछि अचानक चिसिन थाल्यो।  म सोच्न पनि सक्दिनँ थिएँ जुन विश्वास मेरो आँखामा कहिल्यै आँशु देख्न चाहदैंनथ्यो उसैले आँखामा आँशु ल्याउन थालेको थियो।

उसको के कुरा उसको पूरै परिवारनै मेरो चित्त दुखाउन तल्लिन हुन्थे। उसको दिदी अर्थात् मेरी आमाजु विनिशा त्यस घरमा नाटक सिर्जना गर्न खप्पिस थिईन्। सानो सानो कुरामा ठूलो तहल्का मच्चाउथिन् उनी। विनिशा नेपाल, जो विवाह गरेर पनि आफ्नो श्रीमान र छोरीको साथमा त्यसै घरमा थिईन्। अनि विश्वास आफूले देखेको भन्दा सुनेको कुरालाई बढी प्राथमिकता दिन्थ्यो।

नाटक रच्नमा मेरी सासु पनि कम थिईनन्। ‘दिदीको काममा घाटैघाटा लागेको छ। तिमीसँग पैसा छ भने अलिकति देऊ न पछि दिदीले ब्याजसहित दिन्छे।’ तरकारी काट्दै गर्दा भान्छामा आएर सासुले मसँग भनिन्। यसभन्दा अगाडि पनि मैले मेरी आमाजुलाई एक लाख रुपैंया दिईसकेकी थिएँ। त्यसैले यसपटक उनले आफ्नो मुखले माग्न नसकेर आमाको साहरा लिईन्। विश्वासले अस्ट्रेलियाबाट ल्याएको पैसा त पूरै परिवारमाथि खन्याईसकेको थियो। अब मैले आफ्नो लागि साँचेर राखेकी पैसामा पनि उनीहरु आँखा गाड्दै थिए। मेरो विरुद्धमा विश्वासलाई कुरा सुनाएर उनीहरुले मप्रति विश्वासको मनमा पुरै घृणा पैदा गरिसकेका थिए।

मैले जति गर्दा पनि पैसा दिन नमानेपछि उनीहरुले मेरो ज्यान समेत मार्ने धम्की दिए। मैले त्यस घरमा सबैको मनमा अमृत रोप्ने कोशिश गरेँ। तर उनीहरुले बिष ओकलिरहेँ। मेरो केही सिप नलागेपछि म राति नै कसैलाई केही खबर नगरेर त्यो घर र परिवारलाई छोडेर हिँडेकी थिएँ।

ममी बुवाले कहिले केही कुरामा कमी नगरी हुर्काउनुभयो। आफूले त्यसरी हुर्काएकी छोरीको जीवनमा घटेको यो घटनाले के असर पर्ला उहाँहरूमा? फेरि विश्वास मेरै छनोट थियो। के गर्नु अस्ट्रेलियामा पाँच वर्ष संगत गरेर चिन्न नसकेको विश्वासलाई मैले दुई महिनामा चिन्ने मौका पाएँ।

त्यस दिनदेखि न विश्वासले मेरो कुनै खोजखबर गर्‍यो न त उसको परिवारले नै। हाम्रो भेट एकैचोटी अदालतमा भयो। सम्बन्धविच्छेदको प्रक्रिया पूरा हुँदै गर्दा न्यायाधीशले सोधे, ‘बहिनीले अशंमुद्दा किन दाबी नगर्नुभएको?’ त्यतिखेर मैले आँखाभरी आँशु पार्दै विश्वासलाई हेरेर भनेकी थिएँ, ‘सँगै बाच्ने सँगै मर्ने कसम खाएर विवाह गरेको मान्छे त आफ्नो भएन भने मलाई उसको अंश के काम?’ एकछिन अदालतको त्यो इजलासमा सन्नाटा छायो।

इजलासमा छाएको त्यो सन्नाटा त क्षणिक थियो। तर मेरो जीवनमा त्यो भन्दा ठूलो सन्नाटा छाउनेवाला थियो। मैले अन्तिम पटक विश्वासको अनुहार हेरेँ, अनि अघि बढेँ। अस्ट्रेलिया जाँदा प्लेनमा सुरूभएको त्यो सम्बन्ध अदालतमा गएर टुंगियो।

***

सुस्मिता आन्टी र ममीको कुरा सुनेर बसेकी मेरो आखाँमा कतिखेर आँशु आयो पत्तै पाईनँ। सुस्मिता आन्टीले राख्नुभएको प्रस्ताव ममीले स्वीकार्नु भए पनि मैले पूर्ण रूपमा स्वीकारीसकेकी थिईनँ। एकदिन फेरि सुस्मिता आन्टीको फोन आयो। ममीले हेलो पनि भन्न नपाउँदै उहाँले भन्नुभयो, ‘दिदि रिस्तालाई भनेर विप्लवलाई फेसबुकमा फ्रेण्ड रिक्वेस्ट पठाउन लाउनु है।’

कस्तो अचम्म होला विप्लवले फ्रेन्ड रिक्वेस्ट पठाउँदाचाहीँ प्रलय नै आउने हो र भन्या। कति अहम हुने यी पुरुष जातिमा? फेरि सोचेँ जे भए पनि सुस्मिता आन्टी ममीको मिल्ने साथी हो। उहाँले ममाथि अन्याय पक्कै गर्नुहुन्न। फोन त ममीको कानमा थियो तर उहाँले बोलेको कुराहरु ममीको कानबाट बाहिर निस्केर मैले प्रस्टै सुनिरहेकी थिएँ। ‘अहिले यो लकडाउनले गरेर विप्लवको कानुनी रूपमा डिभोर्स भईसकेको छैन। तर लकडाउन खुलेपछि पक्कै विप्लवको डिभोर्स हुन्छ अनि रिस्ता र विप्लवको विवाह गरिदिनुपर्छ।

नेपालमा कोरोनाको महामारी चलेपछि एक महिना भईसक्यो लकडाउन चलेको पनि। बिहान कमाएर बेलुका खानेलाई कति गाह्रो भईरहेको छ जिविका चलाउन। अनि सबै ठप्प भएको छ। अधिकांश सरकारी कार्यलयहरू बन्द छन्। यस्तो बेलामा अदालत पनि कसरी खुलोस् त?

सुस्मिता आन्टीले त्यसो भनेपछि म आफैंले उसलाई फेसबुकमा फ्रेण्ड रिक्वेस्ट पठाएँ। मैले फ्रेण्ड रिक्वेस्ट पठाएपछि उसले मेरो सबै फोटो र पोष्टहरूमा लाईक र कमेन्ट गर्न थाल्यो। जति पर्खिँदा पनि ऊ नबोलेपछि म आफैं उसँग बोल्न थालेँ। मैले म्यासेज के गरेकी थिएँ ऊ त मख्ख परेर बोल्न थाल्यो। एकअर्कालाई नदेखेरै हामी मज्जाले फेसबुकमा कुरा गर्न थाल्यौं। मेरो विगतको बारेमा मैले सबै भनिसके पछि उसले भन्यो। ‘राशी एउटै, जन्म महिना एउटै अनि हुँदा हुँदा समस्या पनि एउटै कस्तो अचम्म हगि,’ त्यसपछि ऊ धेरै खुलेर मसँग कुरा गर्न थाल्यो।

म एकछिन अनलाईन नहुँदा फोनमा म्यासेज गरिहाल्थ्यो। उसको यो बानीले गर्दा नै मेरा आँखाले धेरै सपना देख्न थालेका थिए। आँखा खोलेरै निर्धक्क सपना देख्थेँ म। मैले खाएको नखाएको, सन्चो बिसन्सो, घर परिवारको हालखबर सबै सोध्थ्यो ऊ। उसँग कुरा गर्दा निन्द्रा पनि लाग्न छोडेको थियो मलाई।

करिब दुई हप्तासम्म निकै केयर गरेको विप्लव त्यसपछि अचानक हरायो। मैले जति म्यासेज गरे पनि उसले रिप्लाई गर्न छोड्यो। पहिला पहिला मैले दुई मिनेटमात्रै ढिलो म्यासेज रिप्लाई गर्दा पनि ‘मसँग रिसाएको हो?’ भनेर सोध्ने विप्लवले मेरो म्यासेज हेर्न नै छोडिदियो। मैले धेरैपटक म्यासेज गरेपछि उसले मुस्किलले मोबाईलमा म्यासेज रिप्लाई गर्‍यो। ‘मलाई हामी धेरै नै मिल्न थाल्यौं जस्तो लाग्यो। म आफ्नो श्रीमतीलाई धेरै नै माया गर्छु। उसको मन दुखाउन चाहँदिन। त्यसैले अबदेखि हामी कुरा नगरौं।’ उसको म्यासेज हेरेर भाउन्न छुट्यो। फेसबुक खोलेर हेरेँ फेसबुकबाट पनि हटाईसकेछ। फ्रेण्ड रिक्वेस्टबाट सुरु भएको उसँगको सम्बन्ध ब्लकमा गएर टुंगियो।

किन यसरी अर्काको फिलिङ्ससँग खेल्छन् मान्छे? यदि उसलाई आफ्नो श्रीमतीसँग डिभोर्स नै गर्नु थिएन भने किन नजिकियो ऊ मसँग? किन बोल्यो रातभरि आफ्नो र मेरो निन्द्रा माया मारेर? के म उसको विकल्प मात्रै थिएँ? या उसको समय बिताउने माध्यम जोसंँग ऊ मन लागे बोलोस् र मन नलागे नबोलोस्। मेरो मनमा यस्तै अनगिन्ती प्रश्नहरु खेलिरहे जसको जवाफ म आफैंसँग थिएन।

हाम्रो समाज जतिसुकै आधुनिक र विकसित किन नहोस् यहाँ सधै विप्लव र विश्वास जस्ता पुरूषले रिस्ता जस्तो नारीको सपना र भावनासँग खेलवाड गरिरहेका हुन्छन्। कयौं पुरूषहरू नारीलाई समय बिताउने माध्यम बनाएर मिठो गफमा भुलाईरहेका हुन्छन् भने हजारौं रिस्ताहरु त्यसलाई माया सम्झेर कुहिरोको काग झैं रुमलिरहेका हुन्छन्। 

प्रकाशित मिति: : 2020-04-25 10:55:00

प्रतिकृया दिनुहोस्