मालिकामा खाद्य बैंक स्थापना 

म्याग्दीको मालिका गाउँपालिकाले दरवाङमा खाद्य बैंक स्थापना गरेको छ।

 कोभिड-१९ को रोक्नका लागि गरिएको लकडाउनका कारण प्रभावित भएका विपन्न र श्रमिकलाई वितरण गरिने राहत खाद्यान्न सङ्कलन गर्न खाद्य बैंक स्थापना गरेको हो।

बैंकमा बिहीबार विभिन्न क्षेत्रबाट खाद्यान्न र स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ। प्रभु बैंकको दरवाङ शाखाले सामाजिक उत्तरदायित्वअन्तर्गत १२ बोरा चामल र दुई प्याकेट खानेतेल उपलब्ध गराएको छ। शाखाका प्रबन्धक बिपीन चोखालले गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकालगायतलाई खाद्यान्न हस्तान्तरण गरेका थिए।

सङ्कलित खाद्यान्न पालिकाका वडा कार्यालयमार्फत लकडाउनका कारण रोजीरोटी गुमेर बिहान–बेलुका खानका लागि समस्यामा परेका विपन्न तथा श्रमिकका परिवारलाई वितरण गरिने रोकाले जानकरी दिए। पहिलो चरणमा ८८८ परिवारलाई चामल, दाल, नुन र तेल उपलब्ध गराइएको छ। 

प्रकाशित मिति: : 2020-04-24 10:32:22

प्रतिकृया दिनुहोस्