बन्दाबन्दीका कारण रोकिएको बालाजु बाइपास क्षेत्रमा सडक सुधारको काम थालिएको छ।
सामाजिक दूरी कायम गर्दै सडक मर्मतको काम थालिएको शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले जानकारी दिए। उनका अनुसार जनताको जीवनरक्षाका लागि सरकारले अथक प्रयास गरिरहेको छ।
'गत चैत १० गतेदेखि निर्माण रोकिएका सडक आयोजनाको काम स्थानीय प्रसाशनको अनुमतिमा थालनी भएको हो' उनले भने, 'लकडाउनको समय सदुपयोग र व्यवस्थापनसहित काम थालनी गरिएको हो।'
मजदुरले काम पनि पाउने र विकाससँगै आर्थिक गतिविधि पनि चलायमान हुने भएकाले भीडभाड नहुने गरी काम थालनी गरिएको उनले बताए।
यसअघि नै काम शुरु भएर रोकिएका स्थानमा काम थालनी गरिएको जानकारी दिँदै उनले भने, 'मूल सडकमा हुने काम भने केही दिनभित्रै सहजीकरण गरिने छ।'