फेरि नेकपाका ६ नेताको भैंसेपाटी भेला, सुरक्षाकर्मीबिनै पुगे अध्यक्ष प्रचण्ड

नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सहित सचिवालयका ६ शीर्षनेताले भैसेपाटी भेला आयोजना गरेका छन्।  प्रधानमन्त्री केपी शर्मा ओलीको जानकारीबिनै  उपाध्यक्ष वामदेव गौतम निवासमा आयोजित अनौपचारिक भेलामा सचिवालयका अन्य दुई सदस्य उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापालाई भने डाकिएको थिएन।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ अध्यादेश जारी गरेपछि विकसित भएको राजनीतिक अवस्थाबारे नेताहरुले बेग्लै छलफल गरेका हुन्। उपाध्यक्ष गौतम निवासमा उनी र महासचिव विष्णु पौडेल निरन्तर बसेर पालैपालो नेताहरुसँग छलफल गरेका थिए । अरु नेताहरु भने आउनेजाने गरिरहेको स्रोतले जानकारी दियो।

वरिष्ठ नेताद्वय माधवकुमार नेपाल करिब ४ बजे नै पुगेका थिए। त्यसलगत्तै अर्का वरिष्ठ नेता झलनाथ खनाल पनि भैंसेपाटी पुगे । भेलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एकजुट भएर दबाब दिने र चाँडै स्थायी कमिटी बैठक डाक्न लगाउने निष्कर्ष निकालेकाे छ।

अध्यक्ष प्रचण्ड चाहिँ साढे ५ बजेतिर सुरक्षाकर्मी बेगरै भैँसेपाटी पुगेको स्रोतको दाबी छ। उनी पुग्दा नेपाल फर्किसकेका थिए। नारायणकाजी श्रेष्ठ र खनाल चाहिँ त्यहीँ थिए। अध्यादेश खारेज गर्ने आश्वासन दिए पनि त्यसको कार्यान्वयनमा ढिलाई भएको भन्दै अब कसरी जाने भन्नेबारे प्रचण्डले छलफल गरेको बताइएको छ।

बैठकका एक सहभागीका अनुसार प्रधामन्त्री ओलीले बिहीबार बिहान प्रचण्ड, नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाललाई अध्यादेश खारेजको आश्वासन दिएका थिए तर दिनभरिमा पनि त्यसको कार्यान्वयन नभएपछि उनीहरु भेला भएका हुन्।

स्मरणीय रहोस्,  यसअघि गत पुस २३ गते पनि यिनै ६ सदस्यले भैसेपाटीमै भेला गरी प्रधानमन्त्री ओलीलाई पार्टी र सरकारमा एकलाैटी गर्न नदिने  सहमति गरी दबाब दिन सुरु गरेका थिए।

अध्यादेशको विरोधमा आफूहरुले लिएको अडानको पक्षमा जनमत रहेको बताउँदै यसलाई कायम राख्नेमा उनीहरु एकमत छन्। 'अहिलेको परिस्थितिमा दलबिभाजन सम्बन्धी अध्यादेश ल्याउनु सरकारको कदम गलत थियो। यसलाई खारेज गर्नेबाहेक अर्को बिकल्प छैन भन्नेमा हामीले अडान लिनुपर्छ। अध्यादेश खारेज भएपछि सबै परिस्थितिबारे छलफल गर्न स्थायी कमिटि बैठक डाक्नुपर्छ’, अध्यक्ष प्रचण्डको धारणा थियो ।

प्रधानमन्त्री ओली भने राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने निष्कर्षमा पुगेका छन् । उनी यसको तत्कालीन प्रयोजन सकिएको र निशाना नै समाप्त भएकोले फिर्ता गर्न तयार भएका हुन्। 'कहिलेकाहीँ एक कदम पछि पनि त हट्नुपर्छ', प्रधानमन्त्री सचिवालय स्रोतले नाम उल्लेख नगर्न आग्रह गर्दै भन्यो, 'यसबारे आजै साँझ राष्ट्रपतिज्यूसँग छलफल भएको छ।' प्रधानमन्त्री ओली साँझ सात बजेदेखि ८ बजेसम्म शितल निवास बसेर फर्किएका थिए।

ओलीले बिहीबार बिहान प्रचण्डसँग संसदको अधिवेशनमा विधेयक ल्याउने गरी जारी अध्यादेशलाई खारेज गर्ने आश्वासन दिएका थिए।

 

प्रकाशित मिति: : 2020-04-23 22:14:47

प्रतिकृया दिनुहोस्