महामारी कसैलाई भनेर आउदैन। अहिले विश्व कोरोना आतंकको चपेटामा छ। महाशक्ति राष्ट्र यो विपत्तिलाई सकेसम्म हराउने अभियानमा रातदिन खटेका छन्। नेपालमा के हुँदैछ त? कोरोनासँग कसरी लडने कुनै मार्गचित्र छैन अहिलेसम्म। प्रदेश सरकारलाई आफूसँग भएको शक्ति र द्रव्यको प्रयोग कसरी गर्ने अन्यौल छ। मजदुर वर्ग सीमामा फसेका छन् भने भोकै हिँडेर घर पुग्न चाहिरहेका छन्।
तर, सरकारलाई ओम्नीको भुक्तानी कसरी गर्ने भन्ने चिन्ताले सताएकाे छ। आफू अनुकुल अध्यायदेश ल्याउने र प्रचण्डको छोरीसँग चितवनमा हार्नेलाई सुकुम्बासी आयोगको अध्यक्ष बनाउने हतारो छ।
विश्व राजनीति महामारीका कारण थलापरिरहेको बेला मुलुकमा भने राजनीतिक दल र नेताहरूको पोल खुल्दै गएको छ। सायद समयले एकदिन पक्कै उनीहरूसँग यसको उत्तर माग्ने छ।
मजदुर भोकै रहेका बेला जनताको स्वास्थ्यसँग खेलवाड.गर्दै ओम्नी र ह्वाईट हाउस कलेजका मुखियासँग लिप्त सरकार एकै दाउमा ७० करोड हान्नेहरू उसका प्रिय पात्र भएका छन्। ७ अर्बभन्दा बढीका योजना पाईपलाइनमा राखेका यी पात्रलाई बचाउन देशका मुखिया कोराना त्रास सुरु भएको ११ दिनपछि जनतासँग धम्कीको भाषा प्रयोग गर्छन।
महामारीको यो बेला स्वास्थ्य समाग्री खरीदमा समेत गिद्धे दृष्टि हालेका सरकारका खलपात्रहरु जनताको व्यापक विरोधपछि सेनालाई यो जिम्मा दिन बाध्य हुन्छन्। भ्रष्टाचार गर्न नपाएको त्यही झोकमा आफूविरुद्ध बोलेको समेत पचाउन नसकेर पूर्व सचिव भीम उपाध्यायलाई गिरफ्तार गर्न लगाउँछन्। अलिकति पनि पाए नछोडने मुडमा रहेका यी खलपात्रहरु कञ्चनपुरमा कोरोनाका नाममा २०१५ मोडेलको भेन्टिलेटर पठाउँछन् मानौ नेपालमा केही भएको छैन।
विश्व एक भएर कोरोनाविरुद्ध लडिरहँदा नेपालमा चुनाव आए जस्तो माहोल बनाएका छन् मुलुक हाक्ने पाइलटहरुले। गुट उपगुटभन्दा माथि कहिले नउठेको नेपाली राजनीतिको निकृष्ट अनुहार जनताले महामारीमा देख्नु. याेभन्दा दुर्भाग्य अरु के हुन सक्छ र!
प्रकृति आमा हुन्। मानिसकोे हातमा केवल केही छ भने उसको भाग्य र कर्म मात्र। हिन्दु ध्रमग्रन्थ गीताले भन्छ– स्वर्ग र नर्क यही धर्तीमा छ। यही सजाय र सम्मान पाइन्छ।
नेपथ्य ब्यान्डका अमृत गुरुङकाे एउटा चर्चित गीत छ, ‘यो जिन्दगानी’। जसमा उनले जीवनका सबै आयामलाई व्यक्त गर्न खोजेका छन्। तर समयअनुसार जिन्दगीको परिभाषा फेरिदै गएको छ। जान्नेहरू यसलाई पुस्तान्तरको (जेनेरेशन ग्याप) नाम दिन्छन्। ‘जेनेरेशन ग्याप’ बीचका यी शासकले मुलुकलाई ढुंगे युगमा फर्काएर आफ्नो र आफ्नाको मात्रै हितमा लागेको देखिन्छ। युवा जनशक्तिको चाहना के हो बुझ्ने कोही छैनन्।
राणा प्रधानमन्त्री जुद्ध शमशेरले कुनै बेला जापानमा खाद्यान्न पठाएर नेपाललाई कृषिप्रधान देशकाे हैसियत बनाउन याेगदान पुर्याएका थिए। तर अहिलेका नेताहरूले देशलाई युगाण्डा बनाउने दिशामा कुनै कसर बाँकी राखेका छैनन्।
लाखौंको संख्यामा युवा जनशक्ति काम नपाएर खाडीमुलुक जानु परेकाे तिताे यथार्त हामीसामु छर्लङ छ। २०४६ सालको परिवर्तनपछि १७ हजार नागरिकको कत्लेआम भयाे,अर्काे परिवर्तनकाे नाममा। तर देशले यिनै परिवर्तनकारीका कारण उभाे हाेइन उधाे गति लिइरहेकाे छ।
आफूलाई परिवर्तनकाे संवाहक ठान्ने सबै नेता अहिले पनि जनताका लागि आफूहरूले काम गरिरहेको हावादारी गफ चुटिरहेका छन्। यति बेला हनुमान शब्द नेपाली राजनीतिमा खुब चर्चित बनेकाे छ। यिनै हनुमानधारीहरूले ‘घोष्ट राइटिङ’ को सहयोगले जनताकाे रगत चुस्ने नेताहरूका स्तुतिगान लेख्न कुनै कसर बाँकी राखेका छैनन्–मानौ उनीहरु नेपालका अब्राहम लिंकन हुन्। तर, यि नेताहरूको गतिविधि हेर्दा लाग्छ, उनीहरुको हैसियत नालापानीमा बीरभद्रको किल्लामा जाने पानीको कुलोको सूचना अंग्रेजलाई दिने गद्दारभन्दा पनि रसातलमा झरिसकेकाे छ।
हामी मूलतः आफनो राजा कसले मारेको हो, थाह नभएका मुलुकका अभागी नागरिक हौं। जनताले चाहेको प्रजातन्त्र दिएका राजा बीरेन्द्रको वंशनाश हुने त्योे अप्रिय घटनाका मुख्य पात्र को थिए? यसको विषयमा अहिलेसम्म जनताले पत्याउने स्तरको छानवीन भएको छैन।
पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला दरबार हत्याकाण्डलाई जति बेला पनि ‘ग्य्रान्ड डिजाइन’ भन्थे। तर, उनी कसैलाई नभनी बिते।
परिवर्तनपछि जनताका नेता हुनसक्ने मध्ये कसैलाई सन्त बनाइयाे, कसैलाई दासढुंगामा यसरी फालियो कि कसैलाई थाहा पनि भएन। उनकै समकक्षीहरू यति बेला मुलुक हाँकेर बसेका छन्। तर उनीहरुको उडानको गन्तव्य जनतालाई नै थाह छैन। के यो उनीहरुको दायित्व होईन? दरबार हत्याकाण्ड क्षेत्रीय र वैश्विक राजनीतिमा प्रभुुत्वको लडाईं हुन सक्ने संकेत गरिएको छ र पनि स्पष्ट जनतालाई भन्न सक्ने नेपाली छोरो सायद जन्मेकै छैन।
तीनतिरबाट भारतले घेरेको खुल्ला सीमामा कोरोना कुनै बेला पनि नेपाल पसेर ठूलो विध्वंस मच्चाउन सक्छ। तर अहिलेसम्म शासकले सीमामा खटाउने सशस्त्र प्रहरीलाई न त आधुनिक बनाएको छ, न सीमामा व्यवस्थित निगरानीका संरचना र बोर्डर आउटपोष्ट नै निर्माण गरेको देखिन्छ।
आपत परेपछि तिनै सशस्त्र अहिले चाउचाउको भरमा गस्ती गर्न बाध्य छन्। सीमापारी भारतमा हरेक पाँच किलोमिटरको नेपाली सीमामा एसएसबीको बोर्डर आउटपोष्ट छ।
महामारीको यो बेला ‘फ्रण्टलाइन’ मा उभिएका स्वास्थ्यकर्मीको मनोवल उच्च राख्नुकोे साटो गिराउने काम भइरहेको छ। सुरक्षाकर्मीका लागि राहतको ठोस घोषणा भएको छैन।
केही समयअघि दोस्रो पल्ट मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको एकहोरो रटान छ, जसरी पनि लकडाउन पालना गरौं, पेट भोको भए नि। अनि उनै आफूले ल्याएको अध्यादेशबारे अर्का पाइलटलाई अगाडी राखेर टिप्पणी नगर्न आदेश दिन्छन्। वाह रे! मेराे देशकाे लोकतन्त्र।
कारोना महामारीपछि विश्व अर्थतन्त्रमा व्यापक परिवर्तन हुने निश्चित छ। भारतीय रिजर्भ बैंकका गर्भनर शक्तिकान्त दासले गत साता गरेको प्रक्षेपणअनुसार विश्वलाई कोरोनाका कारण ९ सय अर्ब अमेरिकी डलरको घाटा भइसकेको छ, जसले भारत जस्ता विकासशील देशको विकास दर समेत ह्वात्तै घटेको छ।
यस्ताे अवस्थामा नेपाली अर्थतन्त्र पनि काेरोनाकाे प्रभावबाट मुक्त हुने कुरै भएन। फेरि काेराेनाका कारण पश्चिमालगायत दक्षिण एशियाकाे जीवनशैलीसमेत परिवर्तन हुने आशंका गरिएको छ। काेराेनापछि मानिसमा परिवारप्रतिको महत्व बढेर जाने पक्का छ। स्वास्थ्य क्षेत्रमा क्रान्तिको अपेक्षा गरिएको छ। महाशक्ति राष्ट्रको सानालाई हेर्ने दृष्टिकोण र व्यापारमा पनि ठूलै परिवर्तन देखिने सम्भावना छ। यस्ताे अवस्थामा के नेपाल जस्तो देश अब आउने परिवर्तनका लागि तयार छ त? सबै कुरा थाती राखि अब नेतृत्व तहले यस विषयमा गहन अध्यन र अनुसन्धान गर्न जरुरी भइसकेकाे छ।
कोरोना अवसर पनि हो, नेपाल जस्तो अविकसित देशका लागि। २०४६ सालपछि विभिन्न स्वार्थमा बन्द भएका उद्योग खोलौं। स्वास्थ्य क्षेत्रमा व्यापक परिवर्तनका लागि तयार भएर बसौं । कृषिप्रधान देशको मर्मलाई आत्मसात गरि अर्गानिक खेतीतर्फ अग्रसर हुने वातावरण मिलाऔं।
रैथाने अन्न र सीपलाई ‘ब्राण्डिङ’ कसरी गर्ने तयारी गरौं। जुम्ला जस्ता कयौं ठाउँलाई वातावरण मैत्री, आधुनिकीकरण तथा अन्तर्राष्ट्रिय पर्यटन हब बनाउने योजनामा काम गरौं। जलविद्युतमा स्वदेशी सीप र लगानीको वातावरण बनाऔं। मुस्ताङ र डोल्पा जस्ता हिँडनयोग्य ‘प्याराडाईज’ लाई साच्चिकै स्वर्गको आभाष दिलाउने काम थालौं। जैविक विविधताको धनि मुलुकमा पर्यटनमा नयाँ आशा खोजौं। पक्कै पनि ‘लकडाउन’ पछि विदेसिएका युवा नेपाल फिर्ने छन्। उनीहरुलाई सुहाउने स्वरोजगारका अवसर खोजौं।
यि सबै कामका लागि सबैभन्दा पहिले एउटा जुद्ध शमशेर, राजा महेन्द्र, विपी कोेईराला र मदन भण्डारी जस्ता दूरदर्शी राष्ट्रवादी नेताकाे खाँचाे छ। मुुलुकमा विधमान नेताबाट नेपाल बन्दैन भन्ने कुराकाे पुष्टि भइसकेको छ। उनीहरु म्याद गुज्रेका औषधि हुन्। दुई दशकमा आएका विभिन्न राजनैतिक परिवर्तन र शक्तिकेन्द्रमा बसेकाहरुको हिसाब गर्दा यो प्रष्ट हुन्छ। मुलुकलाई नयाँ पुस्ताको दूरदर्शी राष्ट्रवादी नेताको खाँचो छ। होइन भने केही हुनेवाला छैन, पुस्तान्तर बाहेक। कुनै बेला रवीन्द्र मिश्रकाे एउटा नारा खुब चर्चित थियाे, नेपाली समाजमा–‘भ्रष्टाचारीलाई किरा पराेस्।’ अहिले काेराेनाकाे कहरमा फाइदा खाेज्ने नेता तथा व्यापारीलाई नेपाली जनता भनिरहेका छन्– उनीहरुलाई काेराेनाकाे भाइरसले लगाेस्।