जननी जन्मभूमिश्च: स्वर्गादपि गरियसी । अर्थात् आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान हुन्छन्।
यो भनाइ 'भगवान राम'को हो भनेर भनिन्छ। उनी थिए कि थिएनन्?, उनले भनेकी भनेनन्? कुनै आधिकारिकता छैन। फेरि स्वर्ग भनेकै अर्को मिथक हो, छ/छैन- त्यो पनि थाहा छैन।
राम पनि थिए, स्वर्ग पनि थियो र यो उनले नै भनेको हो भनेर मान्ने कुरा आ-आफ्नो आस्थाको कुरा हो। आस्थाको कुरामा प्रश्न नगर्नु नै राम्रो। किनकि, यसमा तथ्यका लागि हैन, भावनाका लागि मात्र ठाउँ हुन्छ।
रामले भने पनि अरू कसैले भने पनि यो एक ध्रुवसत्य हो। स्वर्गलाई सबैभन्दा सुन्दर ठाउँको उपमा दिँदा आमा र जन्मभूमिसँग अरू केहीको पनि तुलना हुन सक्दैन। भनाइको सार यही हो ।
देश फेर्न सकिन्छ तर जन्मभूमी हैन। देश फेरिएकै आधारमा कोही अनेपाली पनि हुने हैन। देश फेरिसकेकाले नेपाली भैरहन नेपाली मन, नेपाली पन, भाषा, संस्कार र संस्कृति बचाउँनुपर्छ। अमेरिकी नागरिक भैसकेकाले गर्वका साथ भन्न सक्नुपर्छ- मेरो जन्मभूमी नेपाल, मेरो देश अमेरिका। यसो भन्न सकियो भने मात्र जन्मभूमी र देश दुबैलाई न्याय हुनेछ। अमेरिकी नागरिक भैसकेपछि पनि नेपाली दूताबासले यो गरेन, नेपाल सरकारले त्यो गरेन भन्ने रोइलो बन्द गर्नुपर्छ। होस हवाससाथ देश त्याग्नेहरूले जन्मभूमिलाई दिने हो, लिने हैन। आमाको मुख हेर्ने दिन, यो सत्य स्वीकार गरे भ्रमबाट मुक्त होइन्छ र आफ्नै क्षितिज उदाङ्गो हुन्छ। सत्य स्विकार गर्न ढिलो नगरौ।
यो वसुधैव कुटूम्वकमको युग हो।
पूर्वीय सनातनीमा आज आमाको मुख हेर्ने दिन हो। मातातिर्थ औंसी पनि भनिने यो दिन हाम्रो आमा दिवश हो। आजको दिन त यो भनाइ थप अर्थ छ। अझ त्यसमा पनि आमा र जन्मभूमि दुबैलाई छोडेर अर्कै देशमा रहेकालाई त झनै अर्थ हुन्छ।
यो पंक्तिकार त्यही कोटीमा पर्छ। चाहानाले भनौं या बाध्यताले, रहरले भनौ या नियतले या यस्तै यस्तै जेले भने पनि अहिले म मेरो जन्मभूमी नेपाल र मलाई जन्मदिने आमाभन्दा हजारौ माइल टाढा छु। जन्मभूमीले त आश गरेकी छन् या छैनन्, त्यो अव्यक्त छ तर सय वर्ष पुग्न लागेकी मेरी आमा अहिले पनि म फर्कन्छु भन्ने आशमै छिन्।
यस्तो अवस्था मेरो मात्र हैन, लाखौ नेपालीको छ। तर, यसमा हामी दुईखाले नेपाली छौं- एकखाले केही समयका लागि कमाउन गएका छौं जो फर्कने निश्चित छ। उनीहरूले गुमाउने भनेको केही वर्षको समय मात्र हो, उनीहरूको जन्मभूमि नै देश हुने छ। तर, अर्काखाले पनि छौं जसले या त जन्मभूमीभन्दा फरक देश बनाइसकेका छौं वा बनाउने क्रममा छौैं। खासगरी विकसित देशमा पुगेका हामीहरू यो वा त्यो नाममा हाम्रो जन्मभूमीभन्दा अर्कै देश बनाइरहेका छौं। हाम्रो हरियो राहदानीको ठाउँ अरू नै रङका पासपोर्टले लिइसकेको छ। हामीले अर्कै देशका लागि मर्ने/बाँच्ने सपथ लिइसकेका छौं। अर्कै देशको नागरिक हुने लम्बेतान प्रक्रिया पूरा गरेर वथ सेरेमनीमा दाहिने हात माथि उठाउदै भनिसकेका छौं, 'म फलानो ... स्वेच्छाले.... नागरिक भएँ, यो देशको संविधानअनुसार म यो देशको भलाईका लागि समर्पित हुनेछु।'
यो पंक्तिकार अमेरिकामा भएकाले अमेरिकाकै कुरा गर्नु बढी सान्दर्भिक होला। जे जसरी आए पनि नेपालीले अमेरिकामा कमाउने भनेको ग्रीन कार्ड नै हो। १० वर्ष बस्न पाइने यो हरियो कार्डले अमेरिका आउँन भिसा लगाउनु पर्दैन, आउँन/जान नेपालकै हरियो राहदानी प्रयोग गर्नुपर्छ। पाँच वर्षसम्म यो कार्डको मर्यादा राख्न सकियो भने अमेरिकी नागरिकको लागि आवेलन गर्न योग्य भइन्छ। आवेदन दिएपछि अरू ६-८ महिना थप प्रक्रिया पूरा गरेपछि त्यो ग्रीनकार्ड लैजान्छ र सट्टामा नागरिकताको प्रमाणपत्र पाइन्छ। त्यसपछि नेपालको राष्ट्रियता सकेर अमेरिकी राष्ट्रियता लिइन्छ। त्यसको नीलो अमेरिकी पासपोर्ट लिएपछि सदाका लागि नेपाली हरियो राहदानीको काम सकिन्छ।
यसरी नेचुरालाइजेसन भनिने अमेरिकी नागरिक हुने लम्बेतान प्रक्रिया पूरा गरेर अमेरिकी भएका हजारौ नेपाली अमेरिकामा छन्। वथ सेरेमोनी अर्थात् अमेरिकी नागरिक हुन आयोजना गरिने सपथ ग्रहण समारोह पूरा गरेपछि संसार जितेको जस्तो गरेर रमाएका हुन्छन् ती नेपाली। हुन पनि संसारकै शक्तिशाली राष्ट्रको नागरिक हुनु शर्मको हैन, गर्वकै विषय पनि हो।
आज आमाको मुख हेर्ने दिन, आफू जे हौं, गर्वले त्यही भनौं। नेपाली नागरिकता बचाएका छौं भने गर्वले भनौै- मेरो जन्मभूमी पनि नेपाल, मेरो देश पनि नेपाल। हैन, देश अमेरिका बनाइयो, नेपाल जन्मभूमी मात्र रह्यो भने पनि गर्वले भनौ, म अमेरिकी नागरिक, मेरो जन्मभूमि नेपाल। मेरो विचारमा यति भन्न नसक्ने मान्छेले आमाको मुख हेर्ने दिन भनेर आमाको फोटो नटाँसे पनि हुन्छ। किनकि, हरेक आमा महान हुन्छिन् र आफ्नो जन्मभूमि र देशप्रति त्यति कृतघ्न सन्तान छ भन्ने थाहा पाइन् भने उनलाई आफ्नो सन्तानप्रति गर्व हैन, पीडा हुनेछ।
यति गर्नुको अर्थ प्रष्ट छ, उनीहरूले आफ्नो देश फेरे। योसँगै उनीहरूले आफ्नो भौगोलिक राष्ट्रियता फेरे, नागरिकता फेरे, पासपोर्ट फेरे। यहीबेला कतिपयले त आफ्नो नेपाली नाम पनि फेरेर अमेरिकी बनाउको मैले देखेको छु। यसको अर्थ उनीहरूले आफ्नो जन्मभूमी फेरेका हैनन्, यो फेर्न चाहेर पनि सकिने कुरा हैन।
यसरी नागरिकका रूपमा देश फेरिसकेपछि पनि उनीहरू राष्ट्रियताले अमेरिकी र मूलका आधारमा नेपाली रहिरहन्छन्। मूलका हिसाबले उनीहरू कहिल्यै अनेपाली हुदैनन्। त्यसपछि नेपाली रहिरहनचाँहि लुकाएर राखेको नेपाली नागरिकताको प्रमाणपत्र हैन; नेपाली मन, नेपाली पन, संस्कार, भाषा, संस्कृति आवश्यक हुन्छ। त्यो चाँहि कसरी कायम गर्ने ? त्यो अर्को चुनौतिपूर्ण परीक्षा रहन्छ।
तर, दुर्भाग्य उनीहरू त्यो सत्य पनि स्विकार गर्दैनन् । कति दु:खले अमेरिकी नागरिक भएकोमा उनीहरू गर्व गर्दैनन्। उनीहरूले जे भनेर अमेरिकी नागरिक भएको सपथ लिए, त्यो वाचा पूरा गर्दैनन्। एक किसिमले भन्ने हो आफू अमेरिकी भएर पनि अमेरिकी हुँ नभनेर उनीहरू आफूले बनाएको देशलाई नै धोका दिइरहेका हुन्छन्। त्यही भएर त रेडनेक अमेरिकी भन्छन्, 'तिमीहरूको छालाको रङमै गद्धारी छ, तिमीहरूलाई हामीले अमेरिकी बनाए पनि तिमीहरू कहिलै अमेरिकी हुदैनौ, तिमीहरूको पहिलेको देश नै बोकेर बस्छौं। अमेरिका र तिमीहरूको पहिलेको देशबीच लडाइँ भयो भने तिमीहरू अमेरिकाविरूद्ध नै गोली बर्साउँछौं'
झट्ट सुन्दा अप्रिय लागे पनि यो एक किसिमको तीतो सत्य हो । त्यत्रो सपथ लिएर अमेरिकी भैसकेपछि पनि हामी किन गर्वले अमेरिकी हौं भन्न सक्दैनौ ? अनि, त्यत्रो प्रकिया पूरा गरेर नेपाली नागरिकता त्यागिसकेपछि पनि हामी किन नेपाली नागरिक भन्न छोड्दैनौ। यही द्वैध मानसिकता नै हाम्रो लागि अभिषाप चरित्र बनेको छ। हामीले यसो गरेर आफ्नो जन्मभूमिप्रति कृतघ्नता त प्रस्तुत गरिरहेकै छौं, आफूले अनेक गरेर बनाएको नयाँ देश अमेरिकाप्रति पनि न्याय गरिरहेका छैनौं।
कति दु:खले अमेरिकी नागरिक भएका अधिकांश नेप्रिकन (नेपाली-अमरिकन) आफूले बनाएको देशको नागरिक हुँ सम्म पनि भन्दैनन्। यही आप्रवासी चरित्रका कारण रेडनेक अमेरिकी भन्ने गर्छन्, 'तिमीहरूको छालाको रङमै गद्धारी छ, तिमीहरूलाई हामीले अमेरिकी बनाए पनि तिमीहरू कहिलै अमेरिकी हुदैनौ, तिमीहरूको पहिलेको देश नै बोकेर बस्छौं। अमेरिका र तिमीहरूको पहिलेको देशबीच लडाइँ भयो भने तिमीहरू अमेरिकाविरूद्ध नै गोली बर्साउँछौं।'
आज आमाको मुख हेर्ने दिन, आफू जे हौं, गर्वले त्यही भनौं। नेपाली नागरिकता बचाएका छौं भने गर्वले भनौै मेरो जन्मभूमी पनि नेपाल, मेरो देश पनि नेपाल। हैन, देशका रूपमा नेपाल बचाउन सकिएन, मात्र जन्मभूमी रह्यो भने पनि गर्वले भनौ, म अमेरिकी नागरिक, मेरो जन्मभूमि नेपाल। आजको विश्व भूमण्डलीयकरणको युगमा देश र जन्मभूमि एउटै हुनुपर्छ भन्ने छैन। नहुन सक्छ, त्यसो भयो भन्दैमा लाज मान्नुपर्ने वा अपराध गरेको ठान्नुपर्ने छैन।
मेरो विचारमा यति भन्न नसक्ने मान्छेले 'जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी' नभने हुन्छ। अझ म त के भन्छु भने, त्यस्ताले आमाको मुख हेर्ने दिन भनेर आमाको फोटो नटाँसे पनि हुन्छ। किनकि, हरेक आमा महान हुन्छिन् र आफ्नो जन्मभूमि र देशप्रति त्यति कृतघ्न सन्तान छ भन्ने थाहा पाइन् भने उनलाई आफ्नो सन्तानप्रति गर्व हैन, पीडा हुनेछ।
यो पंक्तिकार सगौरव घोषणा गर्छ, मेरो जन्मभूमि पनि नेपाल, मेरो देश पनि नेपाल। त्यसैले म भन्छु, जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी। सक्नुहुन्छ भनें तपाई पनि भन्नुहोस् यसैगरी।