स्थायी समिति बैठक माग गर्दै २० सदस्यले पठाए अध्यक्षद्वयलाई पत्र (पत्रसहित)

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का २० जना स्थायी समिति सदस्यले स्थायी कमिटी बैठकको माग गर्दै अध्यक्षलाई पत्र लेखेका छन्।

स्थायी समितिका २० सदस्यले पार्टी बैठक बोलाउन माग गर्दै अध्यक्षद्वयलाई बुधबार पत्र पठाएका हुन्।

पछिल्लो रजानीतिक विकासक्रम र मुलुकले भोगिरहेका महामारीको विषयमा बैठक बोलाउन जरूरी भएको भन्दै पत्र पठाएको जानकारी दिएको छ।

स्थायी समितिको माग गर्नेहरूमा अष्टलक्ष्मी शाक्य, गणेश शाह, गोकर्ण विष्ट, चक्रपाणी खनाल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुषाल, बेदुराम भुषाल, भीमप्रसाद आचार्य, भीम रावल, मणि थापा, मातृका यादव, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, रघुजी पन्त, लिलामणि पोखरेल, सुरेन्द्र पाण्डे र हरिबोल गजुरेल छन्।

विधानअनुसार स्थायी कमिटी बैठक तीन महिनामा बस्ने भए पनि अहिलेसम्म नबसेको उनीहरूले बताएका छन्।

पत्रमा सरकारद्वारा जारी अध्यादेशबारे छलफल गर्न जरुरी रहेको पनि उल्लेख छ।

‘संसारभरि मानव जीवनमा गम्भीर खतरा सिर्जना गरिरहेको कोरोना विषाणु संक्रमणको चुनौती नेपालले पनि सामना गर्नुपरिरहेको छ । कोराना संक्रमणको प्रभाव कति हुने हो र त्यसको लागि कस्तो स्थितिको सामना गर्नुपर्ने हो भन्ने सर्वत्र चिन्ता छ । नेपाल सरकारले संक्रमणबाट सुरक्षाका लागि जारी गरेको बन्द र बन्देजको झण्डै एक महिना हुनलागेको छ । नेपाली जनता अत्यन्त कठीन स्थितिमा रहेका   छन् । पार्टीका गतिविधि लगायत दैनिक जनजीवनका कैयौं महत्वपूर्ण कामहरु ठप्प छन् । यस्तो स्थितिमा सरकारको नेतृत्व गरिरहेको हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी, विपक्षी समेत अन्य राजनीतिक दलहरु तथा सिंगो राष्ट्रलाई एकताबद्ध गर्दै सरकार र पार्टीमाथि जनताको भरोसा एवं विश्वास बलियो हुनेगरी सरकारका सबै कामकुराहरु हुनु आवश्यक छ । तर पार्टीमा कुनै छलफल नगरी हठात् राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र संवैधानिक परिषद् (काम, कर्तब्य र अधिकार) सम्बन्धी ऐन, २०६६ मा संशोधन गरी अध्यादेश जारी गरिएको छ । यसले राष्ट्रका सामु उपस्थित मूल समस्या समाधान गर्ने जिम्मेवारीबाट ध्यान अनावश्यक विषयमा अन्यत्र मोडिनसक्ने देखिएको छ,’ पत्रमा भनिएको छ। 

यसअघि आधा दर्जनभन्दा बढी स्थायी समिति सदस्यहरूले बैठक बोलाउन ढिला गर्न नहुने धारणा राखेका थिए।

सरकारले गरेको निर्णय अनावश्यक र अलोकतान्त्रिक भएकाले पार्टीमा छलफल गर्न बैठक बोलाउन जरुरी रहेको उनीहरूको भनाइ थियो।

हेर्नुहोस् पत्रको पूर्ण पाठ

प्रकाशित मिति: : 2020-04-22 22:39:32

प्रतिकृया दिनुहोस्