कुहिएको दाल राहतका रुपमा वितरण गरेको आरोपमा पक्राउ परेका कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवसहित ५ जना रिहा भएका छन्।
मंगलबार बिहान पक्राउ परेका मेयर यादव २ लाख ८१ हजार धराैटी तिरेर रिहा भएका हुन्। यता ५ वडाध्यक्ष जनही ६० हजार तिरेर रिहा भएकाे जिल्ला प्रशासन कार्यालय बाराले जानकारी दिएका छन्।
यादवले कलैया नगरपालिका वडा नम्बर ७ मा रहेको ‘यादव कोल्ड स्टोर’मा भण्डारण गरेको कुहिएको दाल राहत स्वरुप वितरण गरेको उजुरी परेपछि प्रहरीले अनुसन्धान थालेकाे थियो । जसमा उनीपछि दोषी पाइएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ।
कलैया मनपा वडा नम्बर २० बस्तपुरमा बितरण गर्नका लागि राखेको दाल ४ बर्ष पुरानो कुहिएको रहेको जानकारी स्थानीयहरुले दिएपछि बाराका सिडिओ रुद्र प्रसाद पण्डितको नेतृत्वको टोलीले चैत २९ अघिसुरुमा २५ किलोको २५ बोरा दाल नियन्त्रणमा लिएको थियो ।
उक्त दाल यादव कोल्ड स्टोरबाट ल्याएको सूचना प्राप्त भएपछि छापा मार्दा ३ सय ८० बोरा दाल बरामद हुँदा कोल्डस्टोरमा शिलबन्दी गरिएको थियो ।